देश

खुकुरी प्रहारद्वारा ६५ वर्षीय घरमालिकको हत्या


काठमाडौँ – उदयपुरमा आफ्नै घरमा काम गर्ने कामदारले ६५ वर्षीय वृद्धको खुकुरी प्रहार गरेर हत्या गरेको छ । त्रियुगा नगपालिका–८ उत्तराई टोलमा आज बिहान ५ बजे ४५ वर्षीय किसन सदाले मोहिकर चौधरीको हत्या गरेको हो ।

आज बिहानै केही कुरामा चौधरी र सदाबीच विवाद भएपछि सदाले चौधरीकै घरको खुकुरी झिकेर चौधरीको टाउकोमा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । घटना हुनासाथ स्थानीयवासीले प्रहरीमा खबर गरेपछि जिल्ला प्रहरीको टोली घटनास्थलमा पुगेर अहिले शवको मुचुल्का सर्जमिन गर्ने कार्य सुरु गरेको छ ।

चौधरीको हत्यामा संलग्न खुकुरी प्रहार गर्ने सदा र खुकुरी प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी उदयपुरका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले बताए ।