राजनीति

भेरोसेल खोप लिन वायु सेवाको जहाज चीन जाँदै


काठमाडौँ – कोरोनाविरुद्धको भेरोसेल खोप लिन नेपाल वायु सेवा निगमको जहाज चीन जाँदैछ । चीनसँग खरिद गरिएको खोप लिन आज राति जहाज चीन पठाउने तयारी गरिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । भेरोसेल खोप लिएर भोलि दिउँसो जहाज काठमाडौँ आइपुग्ने छ ।

लगातार तीन दिन नेपाल एयरलाइन्स चीन जाने क्रममा आज पहिलो दिन चीन जाने तालिका रहेको पौडेलले जनाएको छ ।भोलि नै फेरि सोही जहाज थप खोप लिन चीन जाने पौडेलले जानकारी दिनुभयो । निगमका अनुसार नेपाल एयरलाइन्स आज, भोलि र शनिबार खोप लिन चीन जाने छ । निगमको विमान आज गएर भोलि फर्कने, भोलि गएर शुक्रबार फर्कने र शनिबार गएर आइतबार फर्कने तालिका छ ।

चीनबाट अनुदानसहित ४८ लाख डोज खोप नेपाल आउने निश्चित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ४८ लाख डोजमध्ये केही दिनभित्रै २५ लाख डोज खोप नेपाल ल्याइसक्ने तयारी सरकारको छ । पछिल्लो समय चीनले थप १८ लाख डोज खोप अनुदानमा दिएको छ । गत असार २५ गते ८ लाख मात्रा खोप नेपाल ल्याइएको थियो ।