राजनीति

एमाले बैठक : २४ घण्टा पुरा नभएको भन्दै माधव पक्षलाई कारबाहीबारे निर्णय भएन


काठमाडौँ – नेकपा एमालेको केन्द्रीय कमिटीले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने पार्टीका सांसदहरूलाई कारबाहीबारे मंगलबार कुनै पनि निर्णय गरेन ।

सोमबार बैठकको पहिलो दिन वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ जना सांसदहरूलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । बैठकबारे जानकारी दिँदै पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले स्पष्टीकरण सोधेको २४ घण्टा पुरा नभएको कारण आज त्यसबारे कुनै निर्णय नगरिएको जानकारी दिनुभयो ।

नेपाल पक्षका सांसदहरूले पार्टीले सोधेको स्पष्टीकरणको पत्र नै नपाएको बताइरहँदा प्रवक्ता ज्ञवालीले सांसदहरूले पत्र हात पारेपछि मात्र २४ घण्टाको अल्टिमेटम सुरु हुने जानकारी दिनुभयो ।

आजको बैठकमा पार्टीमा उत्पन्न समस्या समाधानका निम्ति गठन गरिएको कार्यदलको तर्फबाट संयोजक सुवास नेम्वाङले पार्टी एकताका लागि भएका विभिन्न चरणहरूमा भएका प्रयासहरूको बारेमा बैठकलाई ब्रिफिङ गरेका थिए । पार्टीको केन्द्रीय समितिले कार्यदलले तयार गरेको १० बुँदे प्रस्तावलाई अनुमोदन गरी सकेको छ भने कार्यदल विघटन गरिसकेको छ । बैठकमा १० बुँदे प्रस्तावलाई सिर्जनात्मक ढङ्गले अगाडि बढाउने विषयमा छलफल भएको ज्ञवालीको भनाइ छ ।

यता, भूमिहीन सुकुम्वासी, अव्यवस्थित बसोबासीकी समस्या समाधान गर्नका लागि गठन गरिएको आयोगलाई खारेज गर्ने वर्तमान सरकारले तयारी गरिरहेको समाचार आएको प्रति बैठकको ध्यानाकर्षण भएको पनि ज्ञवालीले बताए । आजको बैठकमा आयोगको तर्फबाट अध्यक्ष देवी ज्ञवालीले हालसम्म भएको प्रगतिका बारेमा जानकारी गराएका थिए । आजको बैठक भोलि ३ बजे पुनः बस्ने गरी स्थगित भएको छ ।