राजनीति

कांग्रेस पार्टी कार्यालयमा किन भइरहेको छ धर्ना र आमरण अनशन ? (भिडियोसहित)


काठमाडौँ – नेपाली काँग्रेसको महाधिवेशनको मिति नजिकिए पनि क्रियाशील सदस्यता विवाद समाधान हुन नसक्दा अन्योलता बढेको छ । अहिले यहि विषयलाई लिएर सानेपास्थित पार्टी केन्द्रिय कार्यालयको मूलगेटमा धनुषाका तीन नेता आमरण अनशनमा छन् भने बारा र सर्लाहीका नेता कार्यकर्ता धर्नामा छन् ।

नेपाली काँग्रेसको १४ औं महाधिवेशन आगामी भाद्र १६ देखि १९ गतेभित्र हुन गैरहेको छ । तर क्रियाशील सदस्यता वितरणमा नै धाँधली भएको भन्दै काँग्रेसका प्रदेश नम्बर २ का नेता, कार्यकर्ताहरु पार्टी कार्यालयमा अनसनमा बसेका छन् । त्यस्तै बारा र सर्लाहीका नेता कार्यकता पनि उही आरोपसहित धर्नामा छन् । पूर्व राष्ट्रपति रामवरण यादवका छोरा पूर्व सांसद डा. चन्द्रमोहन यादव तीन दिनदेखि आमरण अनशनमा छन् । उनले जिल्ला छानवीन समितिले केन्द्रलाई दिएको सुझावको आधारमा सो सदस्यता वितरण सम्बन्धि विवाद समाधान नगरे मान्य नहुने बताए ।

धनुषा क्षेत्र नम्बर १ र ४ मा धेरै विवाद छ । छिटोभन्दा छिटो यो समस्या समाधान गर्न सभापति देउवासँग माग उनीहरुले माग गरेका छन् । यता धनुषाका कांग्रेस नेता रामपल्टन शाह पनि ३ दिनदेखि आमरण अनशनमा छन् । उनले आफ्नो माग पुरा नभए पार्टी कै लागि ज्यान दिने चेतावनी दिएका छन् ।

बारा जिल्लाका पूर्वसांसदसहित नेता कार्यकर्ता १० दिनदेखि पार्टी कार्यालयको मूलढोकामा धर्नामा छन् । १३ औं महाधिवेशनमा विवाद भएपछि रोकिएका १६६ जना र सो बराबर थप गरिएका क्रियाशीलको नाम खारेज हुनुपर्ने र मापदण्ड विपरीत बाँडिएको सदस्यता बदर हुनुपर्ने उनीहरुको माग छ ।

सर्लाहीको विवाद पनि उस्तै छ । क्रियाशील सदस्यता विवादलाई लिएर पूर्वजिल्ला सभापति एवं पूर्वसांसद लक्ष्मण रायले पार्टीको विधानसम्मत ढंगले न्यायपूर्ण तरिकाले क्रियाशील सदस्यता वितरणमा भएको धाँधलीको तत्काल छानवीन नभए आफूहरु आमरण अनसनमा बस्न बाध्य हुने चेतवानी दिए ।

धर्नामा बसेकाहरुले जिल्ला छानवीन समितिले दिएको सुझावलाई वास्ता नगरेको भन्दै पार्टी नेतृत्वप्रति आक्रोस समेत व्यक्त गर्दै आएका छन् । नेपाली कांग्रेसको महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने गरी कार्यतालिका बनाइएको छ । तर अहिलेसम्म पनि क्रियाशील सदस्यता विवाद कायमै छ । विवाद टुंगो लागेका भनिएका स्थानमा पनि नयँ नयाँ विषयमा विवाद उब्जिएकोले तोकिएकै समयका कांग्रेस महाधिवेशन हुनेमा शंका उत्पन्न भएको छ ।