राजनीति

राष्ट्रपतिले सांसदको हक अपहरण गर्नुभयो : शम्भु थापा


काठमाडौँ – वरिष्ठ अधिवक्ता शम्भु थापाले नयाँ बन्ने सरकारले भविष्यमा समेत विश्वासको मत पाउँदैन भनेर राष्ट्रपतिले सांसदको हकसमेत अपहरण गरेको आरोप लगाएका छन् ।

संसद विघटनसम्बन्धी मुद्दामाथि सोमबार जवाफी बहसको क्रममा थापाले संविधानले त्यस्तो अधिकार दिएको छ भन्दै प्रश्न समेत गरे । ‘राष्ट्रपति स्वयंले नै विश्वासको मत पाउँछ पाउँदैन भनेर निर्णय गर्ने अधिकार संविधानले दिएको छ र ?,’ उनको प्रश्न छ, ‘राष्ट्रपतिले आफ्नो लिखित जवाफमा भविष्यमा विश्वासको मत पाउँछ कि पाउँदैन भनेर हेरेँ भन्नु भएको छ। त्यो हेर्न मिल्छ र ?’

राष्ट्रपतिलाई मुद्दा लाग्दैन भनिए पनि सांसद र जनताको हक अपहरण गरेको अभियोगमा मुद्दा लाग्ने तर्क थापाको छ। ‘राष्ट्रपतिले १४६ जना सांसदको हक अपहरण गर्नुभएको छ,’ उनको भनाइ छ, ‘वी द पिपुल’को हक अपहरण भएको छ। राष्ट्रपतिलाई मुद्दा लाग्दैन भन्ने व्यवस्था छ तर त्यहाँ कसैको हक अपहरण भएमा मुद्दा लाग्ने भनेको छ ।’

संसद विघटनसम्बन्धी मुद्दामा रिट निवदेक पक्षका कानून व्यवसायीको जवाफी बहस सकिएपछि अहिले एमिकस क्यूरीका तर्फबाट धारणा राख्ने क्रम शुरू भएको छ ।