समाचार

अपहरणमा परेकी सुजिताको शव फेला


काठमाडौँ – असार ११ गतेदेखि हराइरहेकी २३ वर्षीया सुजिता भण्डारीको शव फेला परेको छ । चितवन राप्ती नगरपालिका–३ निवासी भण्डारीको शव आइतबार साँझ स्थानीय ब्रह्मस्थाानी सामुदायिक वनमा फेला परेको हो ।

जंगलमा च्याउ टिप्न गएका स्थानीयवासीहरुले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव गलेको अवस्थामा फेला परेकोे छ । वनको बीचमा एउटा झाङमा अड्किएको अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्य थापाले शवनजिकै बोतलमा सेतो पदार्थ भेटिएको र शव नउठाइएकाले विस्तृत विवरण आउन बाँकी रहेको बताए । घटनाको अध्ययनकै लागि शव नउठाइएको उनको भनाइ छ ।

प्रमुख जिल्ला अधिकारीले युवती हराए लगत्तैदेखि नै केन्द्रीय अनुसन्धान ब्युरोले घटनाबारे सूक्ष्म रूपमा त्रुटिरहित ढंगले सजगता अपनाउँदै काम गरिरहेको बताएको छ । असार ११ गते बिहान ६ बजे साथीको घर जाने भनेर हिँडेकी सुजिता सोही दिनदेखि बेपत्ता भएकी थिइन् । उनले सोही दिन १२ बजे दिदीलाई फोन गरेर अपहरणमा परेको बताएको परिवारका सदस्यले बताएका छन् ।