राजनीति

संसद् विघटनविरुद्धको मुद्दामा आज पनि बहज गरिँदै


काठमाडौँ – संसद् विघटन विरुद्धको मुद्धामा रिट निवेदक पक्षको बाँकी बसेको जवाफी बहस आज पनि जारी रहनेछ । हिजो जवाफी बहसको लागि अब २ घण्टा समय बाँकी रहेको छ ।

आज वरिष्ठ अधिवक्ता शम्भु थापा, हरिहर दाहाल र बद्रीबहादुर कार्कीले जवाफी बहस गर्नुहुनेछ । त्यसपछि अदालतका सहयोगि अर्थात् एमिकस क्युरीको राय लिने काम हुनेछ ।

हिजो जवाफी बहस सुरु गर्दै वरिष्ठ अधिवक्ता रमण कुमार श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले विघटन गर्ने आफ्नो अधिकार क्षेत्रभित्र नपर्ने भएपछि राष्ट्रपतिलाई अघि सारेर प्रतिनिधिसभा विघटन गराएको आरोप लगाउनुभयो ।

श्रेष्ठले अघिल्लो विघटनमा अदालतले प्रधानमन्त्रीको संवैधानिक अधिकारबारे व्याख्या गरेको भन्दै सो व्याख्या अनुरुप विघटन गर्न नमिल्ने भएपछि प्रधानमन्त्रीले राष्ट्रपतिलाई अघि सारेको तर्क गर्नुभयो ।

जवाफी बहस सुरु गर्नु अघि ईजलासले विभिन्न ७ वटा प्रश्नको जवाफ दिन रिट निवेदक पक्षका कानुन व्यवसायीहरुलाई भनेको छ । न्यायाधिश ईश्वर खतिवडाले सरकार पक्षका कानुन व्यावसायीहरुले अघि सारेका प्रश्नहरुकै सन्दर्भमा जवाफ दिन वकिलहरुलाई सचेत गराउनुभएको हो ।