देश

भासिएको कमला पुलको छानविन गर्न माग


काठमाडौँ – कमला खोलामा आएको बाढीले पुल भासिएपछि गुणस्तर र डिजाइनबारे छानबिन गर्न माग भएको छ । जिल्लाका विभिन्न राजनीतिक दल, संघ संस्था र प्रदेश सरकारले डिजाइन र पुलको गुणस्तरबारे छानबिन गर्न माग गरेका हुन् ।

आइतबार कमला जालधार संरक्षण अभियानले धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलालाई ज्ञापनपत्र बुझाएको छ । प्रधानमन्त्रीलाई ध्यानकर्षण हुनेगरी बुझाइएको ज्ञापनपत्रमा उच्च स्तरीय छानबिन समिति गठन गरी दोषीलाई कारबाही गर्न माग गरिएको छ । पुल नभएर जनतालाई निकै सास्ती भएको भन्दै पूर्णनिर्माण पनि तुरुन्तै गर्न ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

यस्तै शनिबार पुलको निरीक्षण गर्न पुगेका पूर्वमन्त्री रामचन्द्र झाले गलत डिजाइनकै कमला पुल भासिएको बताए । “एक त डिजाइन नै गलत थियो । डिजाइनअनुसार काम पनि भएन । त्यसैले पुल भासियो । मैले त शिलान्याशको बेला नै डिजाइन सच्याउन भनेको थिएँ,” उनले भने, “पुल कम्तीमा एक हजार मिटरको बन्नुपर्थ्यो । आठ सय मिटरको मात्रै बन्दा भासिएको हो ।”

उनले पिलरको गहिराइ ३७ मिटर हुनुपर्ने स्टिमेटमा उल्लेख भएपनि १७ मिटर गहिराइमा पिलर खडा गरिएको बताए । उनले पुल निर्माणमा ठूलो रकमको चलखेल भएको पनि दाबी गरे । तत्कालीन डीई अर्जुन यादवको मिलोमतोमा पप्पु कन्ट्रक्सनले गुणस्तरहीन काम गरेको उनको आरोप छ । सञ्चालन नुहँदै पुलको पिलर भासिएपछि सिरहा र धनुषाका प्रमुख जिल्ला अधिकारीले पनि गृह मन्त्रालयलाई छाबिन गर्न प्रतिवेदन पठाएका छन् । धनुषाका सिडिओ बास्तोला र सिरहाका सिडिओ प्रदिपराज कँडेलले छाबिन गर्न सरकारसँग अनुरोध गरेका छन् ।