राजनीति

प्राकृतिक प्रकोपले क्षति पुर्‍याएका निजी आवास पुनर्निर्माणको खर्च सरकारले बेहोर्ने


काठमाडौँ – उपप्रधान तथा गृहमन्त्री विष्णु पौडेलले बाढी, पहिरो लगायतका प्राकृतिक प्रकोपमा क्षति भएका घरको पुनर्निर्माण गरिने बताएका छन् । विपद प्रभावित निजी अवास पुनर्निर्माण तथा पुनर्स्थापना अनुदान कार्यविधि २०७७ बमोजिम क्षति पुगेका आवासको पुनर्निर्माण गरिने पौडेलले बताउनुभयो ।

राष्ट्रिय सभाको बैठकमा बोल्दै पौडेलले मनसुनजन्य घटनाबाट ५ सय ५ निजी घर पूर्णरुपमा क्षति भएको जानकारी दिनुभयो । यस्तै ३६ सरकारी कार्यालय, ९ विद्यालय तथा सामुदायिक भवन, १५ वटा पक्की मोटरेवल पुल, २३ वटा झोलुङ्गे पुलमा क्षति पुगेको बताउनुभयो ।

मेलम्ची खानेपानी आयोजनामा जाने सडकमा क्षति पुगेकाले २ वटा बेलिब्रीज राख्ने तयारी गरिएको पौडेलले राष्ट्रिय सभामा जानकारी दिनुभयो । यस्तै बाढी पहिरोले देशभर ४२ वटा खानेपानी आयोजनामा र २५ जलविद्युत आयोजनामा आंसिक क्षतिपुगेको बताउनुभयो ।

गत वर्षको प्राकृतिक प्रकोपमा क्षति भएका ३९४९ परिवालाई प्रति परिवार पहिलो किस्ता वापत ५० हजार अनुदान रकम प्रदान गरिएको बताउनुभयो । यस वर्ष क्षति भएका ५७२ घर परिवारका लागि तत्काल अस्थायी बसोबासका लागिप्रति परिवार ५० हजार जिल्ला प्रशासन कार्यालयबाट उपलब्ध गराउने प्रक्रिया अगाडि बढाइएको पौडेलले जानकारी दिनुभयो ।