राजनीति

संसद् विघटन मुद्दा : सभामुखको बहस सकिएपछि जवाफी बहस सुरु हुने


काठमाडौँ – प्रधानमन्त्री नियुक्ति र संसद् विघटनसम्बन्धी मुद्दामा आज (आइतबार) सभामुख अग्निप्रसाद सापकोटाका तर्फबाट बहस सकिएपछि जवाफी बहस सुरु हुने भएको छ ।

सभामुखका तर्फबाट वरिष्ठ अधिवक्ताहरू श्यामप्रसाद खरेल, लभकुमार मैनाली, उपेन्द्रकेशरी न्यौपाने तथा अधिवक्ताहरू मेघराज पोखरेल र श्रीकृष्ण सुवेदीले बहस गर्दै छन् ।

उनीहरूका लागि दुई घण्टा समय तोकिएको छ । ‘टि–ब्रेक’ अघि सभामुखका तर्फबाट बहस सकेर आजै निवेदकको जवाफी बहस सुरु हुनेछ । निवेदकले राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री र सभामुखलाई विपक्षी बनाएका भए पनि संसद् विघटन र प्रधानमन्त्री नियुक्तिमा सभामुखको फरक मत रहेका कारण छुट्टै बहस हुने भएको हो ।

यसअघि राष्ट्रपति र प्रधानमन्त्रीका तर्फबाट सरकारी र निजी गरी ३२ जना कानुन व्यवसायीले १४ घण्टा बहस गरेका थिए । गत असार ९ गतेबाट बहस सुरु भएको हो । सुरुमा निवेदक पक्षका ३६ कानुन व्यवसायीले १२ घण्टा बहस गरेका थिए ।

जवाफी बहसका लागि ३ घण्टा समय दिइएको छ । जवाफी बहस आजै सकिने सम्भावना कम छ । जुन मुद्दाको सुनुवाइ प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा तथा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, इश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई रहेको संवैधानिक इजलासमा भइरहेको छ । देउवाको रिट निवेदनको फैसला गरेपछि मात्रै अन्यबारे निर्णय गर्ने सर्वोच्च अदालतले जनाएको छ ।