देश

कपनमा गणेशको रहस्यमय हत्या (भिडियोसहित)

प्रहरी वृत्त बौद्धले किटानी जाहेरी दर्ता गर्न अस्वीकार


काठमाडौँ – काठमाडौँको बुढानिलकण्ठ–९ भण्डारी गार्मेन्टस्थित एक घरमा मृत अवस्थामा भेटिएका रामेछापका गणेशबहादुर भण्डारीको मृत्यु रहस्यमय भएको भन्दै आफन्तले छानविनको माग गरेका छन् । प्रारम्भमा प्रहरी र आफन्तबीच आत्महत्या भएको ठहर गरि मुचुल्का तयार गरिएको थियो । अहिले घटना रहस्यमय भएको दावी आफन्तले गर्न थालेका छन् ।

पशु चिकित्सक भरत थापाका घरेलु कामदार गणेशबहादुर भण्डारी असार १६ गते बिहान आठ तीस बजे अचेत अवस्थामा फेला परेका थिए । आफन्तको दावीअनुसार थापाकै घरको दोस्रो तल्लामा रहेको फलामे भर्याङ तल पाइएका गणेशलाई उपचारका लागि तत्काल नजिकैको अस्पताल पुर्याउने काम भएन । घटनास्थलबाट तुलनात्मक टाढा रहेको ग्रान्डी अस्पतालको एम्बुलेन्स बोलाइयो, त्यो एम्बुलेन्सलाई पनि ४५ मिनेट कुराएर गणेशलाई अस्पताल लैजान राखियो ।

आफ्नै घरका कामदारको त्यो अवस्थामा भेटिँदा घरधनी भरत थापाले प्रहरीमा तत्काल फोन गरेनन् । नजिकैका छिमेकीले समेत थाहा पाएनन् । घरमै दुई कार हुँदा पनि थापाले गणेशलाई अस्पताल लगेनन्, एम्बुलेन्स बोलाउन तिर लागे । कहिले मृत अवस्थामा गणेश भेटिएको जवाफ दिने, कहिले बेहोस अवस्थामा फेला परेको भन्ने थापाको दुई थरी जवाफले घटना रहस्यमय भएको आफन्तको भनाइ छ ।

थापाले मृतकका दाजुलाई घटनास्थल नदेखाएको, घटना ढाकछोप गर्न उद्देश्यले ‘कुनै खातेपातेलाई भन्नु पर्दैन’ भनेको भन्दै मृतकका आफन्तले छानविनको माग गरेका हुन् । २७ वर्षका गणेश आफ्नी पत्नीसहित थापाको घरमा केही वर्षदेखि कार्यरत थिए । घटना हुनुभन्दा तीन दिन अघि उनकी पत्नी अन्तै बस्न थालेकी थिइन् । असार १६ मा मृतकका दाई रमेश भण्डारीले भाइ गणेशले आत्महत्या नै गरेको स्वीकार गरी कारण पत्ता लगाउन आग्रह गर्दैै शव बुझ्ने कागजमा हस्ताक्षर गरेका थिए । अहिले सो कागजमा झुक्याएर घरधनी थापाले हस्ताक्षर गर्न लगाएको दावी गरिएको छ ।

गणेशका आफन्तले घरधनी नै घटनाका दोषी भएको भन्दै दर्ता गर्न खोजेको किटानी जाहेरी महानगरीय प्रहरी वृत्त बौद्धले अस्वीकार गरेको छ । आक्रोशित आफन्तले शुक्रबार थापाको घर घेराउ गरेका थिए । घटनामा मुछिएका घरधनी थापासँग सम्पर्क गर्न खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् ।