देश

जुलाई देखि अन्तराष्ट्रिय उडान सुरु, कुन बार कहाँ भर्ने छ उडान ?



काठमाडौँ – नेपाल नागरिक उड्डयन प्राधिकरणले जुलाई महिनाका लागि अन्तर्राष्ट्रिय उडानको तालिका सार्वजनिक गरेको छ । सार्वजनिक तालिका अनुसार अब सातामा २१ अन्तर्राष्ट्रिय उडान हुने छन् ।


सरकारले भारत, कतार, यूएई, टर्की, साउदी अरेबिया, कुवेत, मलेसिया, ओमान, जापान, चीन र कोरियाका लागि निश्चित संख्या तोकी नियमित उडान खोलेको छ । यो तालिका पछिल्लो पटक मन्त्रिपरिषद्ले दिएको स्वीकृतिका आधारमा तय गरिएको हो ।

कोरिया र चीनबाट भने अझै वायुसेवा कम्पनीले उडानको अनुमति मागेका छैनन् । अनुमति दिएका मुलुकमा नेपाल र सम्बन्धित मुलुक दुबै मुलुकका वायुसेवा कम्पनीले समान उडान अनुमति पाएका छन् । कोरिया, टर्की, कुवेत र ओमान नेपाली वायुसेवा कम्पनी नजाने गन्तब्य हुन् ।

जुलाई १ बाट लागु हुने भनिएको उडान तालिकाअनुसार हप्तामा बुधवार र शुक्रवार भारतको दिल्लीका लागि उडान हुनेछ। त्यसैगरी आइतबार, सोमबार, बुधबार र शनिबार कतारको दोहाका लागि उडान हुनेछ।

त्यसमा नेपाल वायुसेवा निगमले दुईवटा र कतार एअरवेजले दुईवटा उडान भर्ने भनिएको छ। संयुक्त अरब एमेरिटेसको दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा साताको तीनवटा र सारजाह विमानस्थलमा एउटा उडान हुने जनाइएको छ।