विदेश

भारत सरकारलाई अदालतको आदेश, कोरोनाबाट ज्यान गुमाएका परिवारलाई क्षतिपूर्ति देउ


काठमाडौँ – कोरोनाबाट ज्यान गुमाउनेहरुको परिवारलाई क्षतिपूर्ति दिन भारतको सर्वोच्च अदालतले आदेश दिएको छ । कोरोनाबाट ज्यान गुमाउनेहरुको परिवारलाई क्षतिपूति दिनुपर्ने मागसहित दायर गरिएको रिटमा भारतको सर्वोच्च अदालतले आज फैसला सुनाएको छ ।


यद्यपि, कति रकम क्षतिपूर्ति दिने भन्ने विषय केन्द्र सरकारले नै निर्धारण गर्ने अदालतको आदेशमा उल्लेख छ । यसअघि अदालतमा ४ लाख भारु क्षतिपूर्ति पाउनुपर्ने मागसहित मुद्दा दर्ता भएको थियो । त्यस्तै, भारतको केन्द्र सरकारले पनि अदालतमा याचिका दर्ता गरेको थियो, जसमा कोरोनाबाट ज्यान गुमाउनेको परिवारलाई कुनै क्षतिपूर्ति रकम दिन नसकिने उल्लेख थियो, यो रिट अदालतले खारेज गरिदियो ।


भारतमा कोरोनाका कारण ४ लाख जनाले ज्यान गुमाइसकेका छन् । ३ करोडभन्दा धेरै जनसंख्या संक्रमित हुने दुई देशमध्ये भारत एक हो । यहाँ ३ करोड ३ लाख ६२ हजारभन्दा धेरै जनसंख्यामा कोरोना पुष्टी भइसकेको छ । सर्वाधिक धेरै संक्रमित अमेरिकामा छन् । जहाँ, ३ करोड ४५ लाख २७ हजारभन्दा धेरैमा संक्रमण पुष्टी भएको छ ।