देश

हाडीगाउँमा वीपी अध्ययन अनुसन्धान केन्द्र, काठमाडौँ महानगरपालिकाको दुई करोड सहयोग


काठमाडौँ – नेपाली कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको नाममा काठमाडौंको हाडीगाउँमा ‘वीपी कोइराला अध्ययन अनुसन्धान केन्द्र’ स्थापना हुने भएको छ ।


वीपी कोइराला मेमोरियल ट्रष्टले निर्माण गर्ने केन्द्रको भवनको आज शिलान्यास गरिएको छ । भवन निर्माणका लागि काठमाडौं महानगरपालिकाले सबैभन्दा बढी २ करोड रुपैयाँ सहयोग गरेको छ । केन्द्रको भवन बनाउन बागमती प्रदेश सरकारले ५० लाख र ट्रष्टले १ करोड खर्च गर्दैछन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्री डा.शशांक कोइराला र काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले संयुक्त रुपमा भवन शिलान्यास गरेका हुन् । भवनको शिलान्यासपछि कांग्रेस सभापति देउवाले वीपीको योगदानको कदर गर्दै भवन निर्माणमा सहयोग गरेकोमा काठमाडौंका मेयर शाक्यलाई धन्यवाद दिए ।

‘वीपी कोइराला राजनीति, साहित्य र सामाजिक व्यक्तित्वको धनी हुनुहुन्थ्यो । उहाँको नाममा अध्ययन केन्द्र बनाउने काममा सहयोग गरेकोमा धेरै धेरै धन्यवाद’, देउवाले भने ।

कांग्रेस महामन्त्री एवं वीपी पुत्र कोइरालाले पनि आजको दिनलाई आफूले महत्वपूर्ण दिनका रुपमा लिएको भन्दै वीपीलाई जीवन्त राख्न सहयोग गर्ने सबैलाई धन्यवाद दिए । ‘काठमाडौंको मेयरज्यूलाई धन्यवाद । उहाँले बजेट दिनुभयो त्यसैका आधारमा आज शिलान्यास भएको छ । भवन त संरचना मात्रै हो, त्यहाँ आत्मा हुनुपर्छ । यो भवनले वीपीको आत्मालाई जीवित राख्नेछ’, कोइरालाले भने ।

काठमाडौंका मेयर शाक्यले आफू वीपीको कार्यकर्ता नभएपनि अनुयायी भएकोले वीपीको नाममा स्थापित अध्ययन केन्द्रलाई सहयोग गर्न पाउँदा खुसी लागेको बताए ।

‘कुनै बेला म वीपीलाई हेर्न र सुन्न सार्वजनिक कार्यक्रममा जाने गर्थे । कार्यकर्ता नभएपनि म उहाँको अनुयायी हो । उहाँको नाममा भवन बनाउन पाउँदा खुशी लागेको छ’, शाक्यले भने । उनले मुलुकमा प्राप्त राजनीतिक उपलब्धी जोगाउन कांग्रेस नेतृत्वले जिम्मेवार भूमिका खेल्ने अपेक्षा समेत व्यक्त गरे ।

वीपी कोइराला मेमोरियल ट्रष्टका महासचिव रामचन्द्र पोखरेलले अध्ययन केन्द्रबाट वीपीको समग्र व्यक्तित्व अध्ययन र अन्तर्राष्ट्रियकरण गर्न योगदान हुने जानकारी दिए ।