राजनीति

ओली–नेपाल पानी बारबारको अवस्थामा : के दोश्रो तहका नेताले एमाले एकता सार्थक बनाउलान ?


काठमाडौँ – नेकपा एमालेभित्र अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल बीचको सम्बन्ध पानी बारबारकै अवस्थामा छ ।

एकले अर्कालाई तुच्छ गाली गर्न समेत पछि नपर्ने तथा पार्टी एकता कायम राख्न आफू मात्र तयार रहेका बताउने उनीहरु बीच एकता असम्भव प्रायः देखिन्छ । तर दोश्रो तहका नेताहरु भने एमाले एकताका लागि प्रयासमा लागि रहेका बताँउदै आएका छन् । के उनीहरुको प्रयास सार्थक बन्ला त ?

पार्टीभित्र लामो समयदेखि जारी आन्तरिक किचलोले धेरै चोटि वारपारको अवस्थामा पुगेको एमालेमा पुन फुटको चर्चा सुरु भएको छ । यो बीचमा आफू कमजोर हुने डरले अध्यक्ष केपी शर्मा ओलीले तथा चिन्ह र नाम गुम्ने डरले माधवकुमार नेपाल पक्षले ठोस कदम चाल्न नसक्दा एमाले कानुनी रुपमा भने एउटै पार्टी रहेको छ ।

यो बीचमा विवाद समाधानका लागि दुबै पक्षबाट केहि प्रयास भएपनि ती निरर्थक रहँदै आएका छन् । बरु पार्टी एकताका लागि आफू ईमान्दार रहेको बताउने नेपाल र ओली नै समस्या समाधान गर्न भन्दा बल्झाउन लागि परेका देखिन्छन् । एक अर्कालाई तल्लो तहसम्म गिरेर आरोप प्रत्यारोप गर्दै आएका उनीहरुको कदम नै समस्या समाधानको विपरित देखिँदै आएको छ । यो अबधीमा नेपालले आफूलाई प्रधानमन्त्रीको अफर आएपनि विपक्षी गठबन्धनलाई धोका नदिने तथा ओलीले गरेको आह्वान जालझेल भएको बताए ।

ओली तानशाही बन्न लागेकोले आफूले विद्रोह गरेको तर उनी सुध्रिए एक हुन सकिने उनको भनाई थियो । तर बालुबा निचरेर तेल नआउने निष्कर्षमा नेपाल छन । यता ओलीले पनि नेपाल प्रचण्डको मामुली कार्यकर्ता भएको तथा नेपाललाई प्रधानमन्त्रीको अफर गर्न आफूलाई बौलाहा कुकुरले नटोकेको बताए ।

अर्थात उनीहरुबीच सम्बन्ध यति तित्ततापूर्ण बनेको छ कि ओली नेपाल विहिन र नेपाल ओली विहिन एमाले निर्माणमा लागेका हुन भन्ने सवाल उठेको छ । तर दोश्रो तहका नेताहरु भने एमाले एकता अझै नटरेको भन्दै पार्टी एकता जोगाउन कम्मर कसेर लागि परेका छन् । अहिले दुवै समूहमा विभाजनभन्दा एकतातिर अग्रसर हुनुपर्छ भन्ने मत बलियो हुँदै गएको दोश्रो तहका नेताहरुको भनाइ छ ।

विवाद समाधानका लागि यस अघि नै गठन भएको दस सदस्यीय कार्यदलले अनौपचारिक ढङ्गले एकताका समस्या के हुन् ? गाँठो कसरी फुकाउने भनेर छलफल गरिरहेको उनीहरु बताउछन । शीर्ष नेताले नै आरोप–प्रत्यारोपमा लामो समय खर्चिदा एकतामा केहि समस्या देखिएपनि आशा नमारेको उनीहरुको भनाई छ ।

तर एकताका लागि भईरहेको प्रयास भने प्रभावकारी देखिएका छैनन् । दुबै पक्षबाट गालीगलौजको श्रृखला अझै टुङ्गिएको छैन भने एकले अर्काको अस्थित्व स्वीकार्ने अवस्था छैन । अर्थात ओलीको भाषामा नेपालले प्रचण्ड रोजिसकेका छन भने नेपालको भाषामा बालुवाबाट तेल निस्किने सम्भावना छैन ।

यसरी मुख्य दुई नेतामै रहेको निषेध र घृणाको अवस्थामा एमाले एकताको सम्भावना टर्दै गएको छ । तर नेपाल पक्षका केही नेताहरु भने ओली पक्षमा जाने सम्भावना भने अझै कायमै छ । के दोश्रो तहका नेताहरुले भनेको एकता यहि हो त ?