राजनीति

चाक्सीबारीमा निधि, कोइराला र सिंहबीच आज छलफल हुने


काठमाडौँ – नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा.शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच मंगलबार फेरि छलफल हुने भएको छ ।आसन्न महाधिवेशनमा सभापतिका आकांक्षी तीनै जनाले सहमतीमा नेतृत्व चयन गर्ने गरी छलफललाई निरन्तरता दिएका छन् ।

कांग्रेसमा पारिवारिक लिगेसी बोकेका निधि, कोइराला र सिंहबीचको निरन्तरको छलफलले पार्टीभित्र तरंग ल्याएको छ । शशांक कांग्रेसका संस्थापक नेता वीपी कोइरालाका छोरा हुन् भने विमलेन्द्र महेन्द्रनारायण निधिका र प्रकाशमान गणेशमान सिंहका छोरा हुन् ।

पार्टीभित्र फरक गुटमा रहेका शशांक, विमलेन्द्र र प्रकाशमानको निरन्तरको छलफललाई कतिपयले नयाँ समीकरण निर्माणका रुपमा पनि लिने गरेका छन् । निधि संस्थापक समूहमा छन् भने कोइराला र सिंह संस्थापनइतर समूहका नेता हुन् ।

कांग्रेसको १४ औं महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने गरी कार्यतालिका अनुमोदन गरिएको छ ।