समाचार

उपत्यकामा आज देखि जोर–बिजोर प्रणालीमा सार्वजनिक सवारीसाधन चल्न पाउने


काठमाडौँ – आजदेखि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप खुकुलो बनाइएको छ । यसअघि निजी सवारीमासमेत जोर–बिजोर प्रणाली लागू गरिउको थियो ।

उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको सोमबार बसेको बैठकले स्वास्थ्य मापदण्ड पालन गरेर जोर–बिजोर प्रणालीमा सार्वजनिक सवारीसाधन चल्न दिने निर्णय गरेको हो । बैठकले २५ सिटभन्दा माथिका सार्वजनिक सवारीसाधन सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

व्यवस्थित र स्वास्थ्य मापदण्ड पालन गरेर बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म २५ सिट क्षमताभन्दा बढीका यात्रुवाहक सार्वजनिक सवारीसाधन चलाउन दिइने काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो । बैठकले काठमाडौं उपत्यकामा फेरि एकसाता निषेधाज्ञा थप्ने निर्णय पनि गरेको छ । लामो दूरीका सवारीसाधन भने चलाउन पाइने छैन ।

सबै किसिमका पसल बिहान ११ बजेदेखि ६ बजेसम्म खोल्न दिइनेछ । डिपार्टमेन्ट स्टोर, शपिङ मल, कपडा, जुत्ता, फेन्सी, कस्मेटिक, सुनचाँदी पसल, भाँडा, विद्युतीय घरायसी सामग्री पसल, निर्माण सामग्रीका पसल बिहान ११ देखि साँझ ६ बजेसम्म खोल्न दिइने भएको छ ।

उपभोग्य सामानको होम डेलिभरी, रेष्टुरेण्ट एवं फाष्टफुड तथा अन्य अर्डर ‘टेक अवे’ सेवा साँझ ७ बजेसम्म सञ्चालन गर्न पाइने भएको छ ।