देश

हतारमा उद्घाटन गरेरको धरहराको काम अझै ४० प्रतिशत बाँकी

धरहरा ठडिएसंगै काठमाडौँले गुमाएको सुन्दरता पुन पाएको छ ।


काठमाडौँ – विकास निर्माणका पूर्वाधारहरु सम्पन्न गर्नुभन्दा त्यसको जस लिन बढि मरिहत्ते गर्ने नेपाली राजनीतिज्ञको सस्कार नै बनिसकेको छ । त्यस्तै परिस्थीतिबाट धरहराको नव निर्माण पनि गुज्रियो । निर्माणसम्पन्न नहुँदै प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरे पनि निर्माणको बाँकी कार्य सम्पन्न गर्न ढिलासुस्ती भइरहेको छ ।

मेरो धरहरा मै बनाउँछु अभियानबाट सुरु गरिएको धरहराको पुन निर्माण कार्य सम्पन्न नहुँदै प्रधानमन्त्री केपी शर्मा ओलीले गत बैशाख ११ गते लोकतन्त्र दिवसको अवसर पारेर उद्घाटन गरे । भूकम्प गएको बैशाख १२ को पूवृसन्या समेत पारेर गरिएको धरहराको उद्घाटन २ महिना पुरापुर वितिसक्दा समेत निर्माण कार्य कछुवाको गतिमा छन् । धरहरा ठडिए पनि यसका आधार क्षेत्रमा निर्माण हुनु पर्ने थुप्रै संरचना र धरहराभित्रका आकर्षणका कामहरु पनि गर्न बाँकी नै छ ।

धरहराको अझै ४० प्रतिशत काम बाकी रहेको पुननिर्माण प्राधिकरणले जनाएको छ । गत वर्ष नै धरहरा पूननिर्माणको काम निर्माण कम्पनीले कोरोना महामारीको कारण देखाउदै म्याद थप गर्न माग गरेको थियो । पुरानो सम्झौता बमोजिम निर्माण कम्पनिले समय मै काम नसक्दा म्याद थपिए पनि काम सम्पन्न हुन सकेको छैन । पछिल्लो समय थप भएको म्याद यहि असारमा सकिदैछ । तर, निषेधाज्ञाका कारण मारमा परेका निर्माण व्यसायीलाई सरकारले फेरि पनि थप ५ महिना म्याद थपिसकेको छ । अझै कति समय थप गर्नु पर्ने हो र कहिले धरहरा निर्माण कार्य सम्पन्न हुन्छ टुंगो छैन ।

गत वैशाख ११ गते प्रधानमन्त्री ओलीले धरहाराको उद्घाटन गर्दै केही महिनाभित्र धरहराको काम सम्पन्न हुने र सर्वसाधरणका लागि खुला गरिने बताएका थिए । तर त्यस समयको अस्थीर राजनीति र सरकार ढलिहाले धरहरा निर्माणको जस लिन नपाइने भएकाले ओलीले हतारमा उद्घाटनको रहर गरेको भन्दै कतिपयले आलोचना गरे । अहिले पनि सर्वसाधरण धरहरा निर्माण कार्यले गति नलिएकोमा चिन्ता व्यक्त गर्छन् ।

वि.सं. १८८२ मा भीमसेन थापाको पालामा निर्माण भएको धरहरा १९९० सालको भूकम्पका बेला पनि क्षति पुगेको थियो । पाँच वर्षअघिको भूकम्पमा पूर्णरूपमा क्षति भएपछि धरहरा निर्माणको काम अन्योलमा परे पनि दुई वर्षदेखि नयाँ धरहरा निर्माणको काम भइरहेको हो । धरहरा काठमाडौँको सुन्दरता हो । धरहरा ठडिएसंगै काठमाडौले गुमाएको सुन्दरता पुन पाएको छ । तर यसको पूर्ण निर्माणमा भएको ढिलाईलाई तिब्रता दिन आवश्यक देखिन्छ ।