देश

प्रहरीले आफ्नो संवेदनशील अंगमा छोएको सपनाको आरोप


काठमाडौँ – सपना रोक्का मगरले आफूलाई सुरक्षाकर्मीले संवेदनशील अंगमा छोएको बताएकी छिन्। उनले आफूलाई प्रहरीले कुटपिट गरेर बेहोस बनाएको आरोप पनि लगाएकी छिन् ।

सोमबार अनामनगरमा हाम्रो टिम नेपाल नामक संस्थाले खाना पकाउन बनाएको टहरा हटाउने क्रममा प्रहरीको पक्राउमा परेकी सपनाले साँझ रिहापछि आफूलाई प्रहरीले संवेदनशील अंगमा छोएको बताएकी हुन् । उनले भनिन्, ‘महिला प्रहरी किन ? महिलाको सुरक्षाको लागि होइन। तर महिला प्रहरी हुँदाहुँदै नगर प्रहरी र नेपाल प्रहरीले मेरो छातीमा छोए। मलाई कुटपिट गरे। त्यसपछि म बेहोस पनि भएछु।’

लकडाउनका समयमा आर्थिक अवस्था कमजोर भएर खानपिनमा समस्या भएकालाई दैनिक खाना उपलब्ध गराउन हाम्रो टिम नेपालले अनामनगरस्थित काठमाडौं महानगरपालिकाको नाममा रहेको खाली जग्गामा टहरा बनाएर खाना बनाउने र त्यहाँबाट विभिन्न ठाउँमा उपलब्ध गराउने काम गरेको थियो।

महानगरपालिकाले पटकपटक त्यहाँबाट हट्न निर्देशन दिँदा पनि नमानेपछि बल प्रयोग गर्नुपरेको जनाएको छ। ‘व्यक्तिगत स्वार्थबाट माथि उठेर सडकका वेवारिसेका लागि काम गर्दा यस्तो इनाम मिल्छ भने म निशब्द छु’, रोक्काले भनिन्। उनी पछिल्लो समय हाम्रो टिम नेपालका लागि पनि काम गरिरहेकी छिन्। रोका वेवारिसे लास व्यवस्थापनमा सक्रियताका कारण चर्चामा आएकी थिइन् ।