राजनीति

कांग्रेसको असफलतामा को दोषी ?, सभापतिमा कस्को बढि सम्भावना ?


काठमाडौँ – नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवाले पुन दाबी गरेपछि सस्थापन बाहेकका नेताहरुले उनको विकल्प खोज्नुपर्ने बताउँदै आएका छन । उनको नेतृत्वमा पार्टी विधानतः नचलेको तथा चुनावमा पार्टीले हार व्यहोरेको विपक्षीको आरोप छ । पार्टीलाई संगठित गर्ने र चलायमान बनाउने नेतृत्व क्षमता वर्तमान सभापति बाहेक अरु नेताहरुमा कति छ त ?

कांग्रेसमा महाधिवेशनको मिति नजिकिएसंगै पार्टीमा चुनावी सरगर्मी बढेको छ । भावी नेतृत्वका लागि वर्तमान सभापति शेरबहादुर देउवा र उपसभापति विमलेन्द्र निधिसंगै वरिष्ठ नेता रामचन्द्र पौडेल नेताहरू, डा. शशांक कोइराला, प्रकाशमान सिंह, गोपालमान श्रेष्ठ र डा. शेखर कोइरालाले सभापतिमा आकंक्षा देखाएका छन । जसमध्ये देउवा र निधिले औपचारिक दाबी गरिसकेका छन भने अन्यको चर्चा चलिरहेको छ । भावी नेतृत्वको दाबेदारीका लागि उनीहरूका आ–आफ्ना तर्क छन ।

महाधिवेशन लक्षित भेटघाट, संवाद र छलफल अघि बढाएका देउवाले यो महाधिवेशन आफूमाथि लागेको ‘असफल सभापति’को छवि सुधार्ने अन्तिम अवसर भन्दै अन्यसंग प्रस्ताव अघि बढाएका छन् । आफूले पुनः पार्टीको नेतृत्व गरेर देशको पहिलो पार्टी बनाउने र मुलुकलाई सही दिशामा ल्याउन आफू सभापति बन्न चाहेको उनको भनाई छ । तर देउवालाई पटक–पटक पार्टी र सरकारको नेतृत्व गरिसकेका कारण अब विश्राम लिन उनकै विश्वासी र सहयोगीहरुको दबाब छ । विमलेन्द्र निधिले सभापतिका लागि खुट्टा उचाल्नु पनि यसैको संकेत बुझ्न सकिन्छ ।

तर देउवाको विकल्प खोज्न भने अरु नेताहरुलाई सकस परेको छ । एउटै गुटबाट धेरै आकंक्षी देखिएपछि उनीहरु यति बेला नेता व्यवस्थापनमै व्यस्त देखिएका छन । यो बीचमा विमलेन्द्र निधिले सभापतिका अर्का आकांक्षी डा.शशांक कोइराला र प्रकाशमान सिंहसँग निवासमै भेटवार्ता गरेपछि आगामी महाधिवेशनका लागि फरक किसिमको समीकरण बन्दै जान लागेको बुझ्न सकिन्छ ।

यद्यपी महाधिवेशनको अन्तिम घडि सम्ममा सभापतिको उमेद्वारमा तीन देखि चार जना मात्र टिकिरहने धेरैको विश्लेषण छ । यदि त्यसो भए सभापती बन्न ५१ प्रतिशत भोट ल्याउनुपर्ने कांग्रेसको विधानको प्रावधान पुरा गर्न निधिले देउवालाई सहयोग गर्ने सम्भावना रहेको विश्लेषकहरु बताउछन । यो कोणबाट विश्लेषण गर्दा अहिलेसम्म देउवाको नै सभापतीमा सबैभन्दा बढि सम्भावना देखिएको छ ।

एक त देउवा बाहेकका नेताहरु उनको विकल्प भन्दा आफू नेतृत्वमा जाने दाउमा देखिन्छन् । त्यस्तै बाह्रौ महाधिवेशनमा आफूसंग महामन्त्रीमा हारेका निधिलाई सिंहले सहयोग गर्लान त ? प्रश्न यो पनि छ । त्यसैले निधिको उमेद्वारीलाई माहोल तताउने काईदाका रुपमा मात्र हेरिएको छ । अर्कातर्फ देउवा नेतृत्वमा रहँदा महत्वपूर्ण पदमा रहेका तथा अहिले सभापतिको आकंक्षीले पार्टीको असफलतामा देउवा मात्र दोषी रहेको जसरी आफू चोखिने प्रयासलाई कांग्रेस कार्यकर्ताले आँखा चिम्लेर विश्वास गर्लान त ? यी र यस्ता थुप्रै कारणले संस्थापन ईतरका गुटहरु देउवालाई टक्कर दिने गरि अघि आउने सम्भावना कमजोर देखिएको छ ।