देश

डेढ घण्टाको वर्षापछि जनकपुर डुवानमा


काठमाडौँ – अविरल वर्षाका कारण जनकपुरधाम डुवानमा परेको छ । करिब डेढ घण्टा अविरल रुपमा परेको पानीले सोमबार जनकपुरधाम उपमहानगरपालिकाको अधिकांश वडाका घरहरूमा पानी पसेका छन् ।

केही वर्ष पूर्व एडिबीको ऋण सहयोगमा बनेको नवनिर्मित सडकहरूमा समेत पानी जमेको छ । सडकमा १ फिटसम्म पानी जमेपछि सर्वसाधारणलाई आवतजावतमा निकै कठिनाइ भएको छ । भारी वर्षाका कारण जनकपुरधाम उपमहानगरपालिकाकी नगर उपप्रमुख रीता मिश्रको घरमा समेत पानी पसेर जलमग्न बनेको छ ।

जनकपुरधाम उपमहानगरपालिकाका मुख्य चोकहरु रामानन्दचोक, भानू चोक, पिडारी चोक, राम चोक, पिडरियामाईस्थान लगायतका स्थानहरूमा समेत पानी पसेको छ । अधिकांश गल्लीका सडकहरूमा समेत पानी जमेको छ । यहाँको सरस्वती नगर, मिथिला नगर, धत्ताटोल, पिडारी टोल लगायतका प्रायः सबै टोल जलमग्न भएका छन् । भारी वर्षाका कारण यहाँका सरकारी कार्यालयहरू आन्तरिक राजश्व कार्यालय, हुलाक कार्यालय, परिवार नियोजन सङ्घ, महिला विकास केन्द्र, वन निर्देशनालय, ट्राफिक प्रहरी कार्यालय, प्रादेशिक अस्पताल लगायतका परिसरहरू जलमग्न भएका छन् ।

मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय, प्रदेशसभा भवन, रेडक्रस सोसाइटी, बाह्रविघा मैदान लगायतका स्थानहरू समेत जलमग्न छन् । वर्षायामको सुरुवातमै यस्तो अवस्था सिर्जना भएपछि स्थानीय चिन्तित छन् । केही वर्ष अघि मात्रै नाला ढलानसहित चौडा सडक निर्माण भए पनि पानीको निकास नहुँदा सडक जलमग्न भएको हो । कमसल र मापदण्ड अनुसार सडक, ढल तथा नाला निर्माण नहुँदा सडकमा पानी जमेर घर भित्रसम्म जलमग्न हुनुको दोषी वडा कार्यालय र जनकपुरधाम उपमहानगरपालिका र जनप्रतिनिधिहरूको कमिसन खाने बानीको कारण यस्तो समस्या उत्पन्न भएको आरोप युवा अभियन्ता सुशील कर्णले लगाएका छन् ।


उनले व्यवस्थित र फराकिलो नाला तथा ढल नबनाउँदा र गुणस्तरहीन सडक निर्माणले सडक देखि घरसम्म जलमग्न भएको आरोप लगाए । जनकपुरधाम उपमहानगरपालिकाले निर्माण गरेको ढलमा निकासका समस्याका कारण यस्तो अवस्था उत्पन्न भएको छ । सडकमा कालोपत्रे र पेटी निर्माणका क्रममा ढलमा इट्टा, गिट्टी र बालुवा पसेका कारण पानीको निकास अवरुद्ध भएको छ ।