देश

असार मसान्तपछि सुक्खा बन्दरगाह सञ्चालनमा


काठमाडौँ – चोभारमा निर्माणाधिन सुख्खा बन्दरगाह असार मसान्तपछि सञ्चालन गर्न सकिने भएको छ ।

आज इन्टर मोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले चोभारको सुक्खा बन्दरगाह यही असार मसान्तभित्र सम्पन्न गरीसकिने बताउनुभएको हो । बन्दरगाहको काम ९० प्रतिशत सम्पन्न भइसकेको र बन्दरगाह सञ्चालनका लागि पूर्वाधार बनिसकेको उहाँले बताउनुभयो । केही बाँकी रहेका काम यसै आर्थिक वर्षभित्रैमा सम्पन्न गरिसकिने पनि उहाँले बताउनुभयो ।

विरगञ्ज, विराटनगर, भैरहवा, नेपालगञ्जमा क्लियर नगरी सामग्री एकैचोटी काठमाडौंमा क्लियर गर्न सकिने हुँदा बन्दरगाहले व्यापारलाई सहजीकरण र सामानको ढुवानी ओसार–पसार गर्ने मुल्यलाई घटाउन योगदान गर्ने उहाँले बताउनुभयो । पृथ्वी राजमार्ग हुँदै बन्दरगाहसम्म सामाना ढुवानी गरिने उहाँले जानकारी दिनुभयो । बन्दरगाहको लागत अनुमान १ अर्ब ८० करोड रहेको उहाँले बताउनुभयो ।