विदेश

अमेरिकाले गर्‍यो इरान समर्थित विद्रोहीलक्षित हवाई आक्रमण


काठमाडौँ – अमेरिकाले इराक र सिरियामा रहेका इरान समर्थित विद्रोहीलक्षित हवाई आक्रमण सुरु गरेको अमेरिकी रक्षा मन्त्रालयलाई उद्धत गर्दै बिबिसीले उल्लेख गरेको छ ।

अमेरिकी फौजमाथि विद्रोहीको ड्रोन हमलाको प्रत्युत्तरमा सञ्चालनमा रहेका र हतियार केन्द्रहरूमा हमला गरिएको पेन्टागनको विज्ञप्तिमा उल्लेख छ ।
बाइडनले राष्ट्रपति बनेयता इरान समर्थित विद्रोहीमाथि आक्रमण गर्न स्वीकृति दिएको यो दोस्रो पटक हो । इरानमा रहेका अमेरिकी सेनामाथि गएका महिनामा केही ड्रोन आक्रमणहरू भएका छन्। इरानले आफ्नो संलग्नता नरहेको बताएको छ ।

अमेरिकाका अनुसार सिरियाका दुई र इराकको एक लक्ष्यमा रक्षात्मक हवाई हमला गरिएको हो । ती लक्ष्य इरान समर्थित कैताइब हेज्बुल्लाह र कैताइब सय्यद अल–शुहादा विद्रोही समूहले प्रयोग गर्ने स्थान भएको जनाइएको छ ।

सन् २००९ देखि अमेरिकाले कैताइब हेज्बुल्लाहलाई इराकको शान्ति र स्थिरताका लागि खतरा भन्दै आतङ्ककारी समूहको सूचीमा राखेको छ । हमलामा के कति घाइते भए वा मारिए भन्ने जानकारी भने दिइएको छैन ।