विदेश

सोमालियामा अल–शबाबका २१ सदस्यलाई मृत्युदण्ड


काठमाडौँ – सोमालियाको अर्ध स्वायत्त राज्य पन्टल्याण्डमा इस्लामिक बिद्रोही समूह अल–शबाबको सदस्य भएको अभियोगमा २१ जनालाई मृत्युदण्ड दिइएको छ ।

गाल्कायोमा रहेको सैनिक अदालतले उनीहरुलाई मृत्युदण्डको सजाय सुनाएको हो । उनीहरुलाई गोली प्रहार गरेर मृत्युदण्ड दिइएको हो । मृत्युदण्ड दिइएका सबै पुरुष हुन् ।

राज्यको रेडियोका अनुसार मृत्युदण्ड दिइएका मध्ये १८ जनाले एक दशक भन्दा लामो समयदेखि हत्या तथा बम आक्रमणसहितका गतिविधि गरेका थिए ।

सोमालियाका विभिन्न क्षेत्रमा यस्तै प्रकारका मृत्युदण्ड दिइएको थियो अल–शबाबका सदस्यहरुलाई। तर पुन्टल्याण्डमा अल–शबाबका यति धेरै सदस्यलाई एक साथ मृत्युदण्ड दिइएको यो पहिलो घटना हो ।

पुन्टल्याण्डका अधिकारीहरुले अल–शबाबका सदस्य वा उनीहरुलाई सहयोग गर्नेहरुलाई न्यायको दायरामा ल्याउने बताएका छन् ।सोमालियाको स्थायित्वमा इस्लामिक बिद्रोही समूहहरु अझै पनि गम्भीर चुनौतिका रुपमा रहेका छन् । अल–शबाबले देशको दक्षिणी र मध्य क्षेत्रका भागहरुमा नियन्त्रण कायम गरेको छ । गत अक्टोबरमा सार्वजनिक भएको एक प्रतिवेदन अनुसार सोमालिया सरकारले भन्दा अल–शबाबले बढी रकम संकलन गरेको छ ।

आइतबार २१ अल–शबाब सदस्यहरुलाई मृत्युदण्ड दिंदै गर्दा बिद्रोही समूहले सोमालियाको अर्को क्षेत्रमा आक्रमण गरेको थियो । सो आक्रमणमा सैनिकहरु मारिएको दाबी गरिएको छ । मुदुग क्षेत्रको विसिल क्षेत्रमा आक्रमण भएको हो । सो आक्रमणमा कम्तीमा २० सैनिक मारिएको दाबी छ । अल–शबाबका लडाकुले आर्मी बेसक्याम्पमा आक्रमण गरेको बिबिसीले जनाएको छ ।