राजनीति

वेदुराम भुसाल स्वतन्त्र हुन सक्छन्, सांसद रहिरहन सक्दैनन् : मुख्य सचेत भट्टराई


काठमाडौँ – राष्ट्रिय सभामा एमालेका मुख्य सचेतक खिमलाल भट्टराईले एमाले नेता वेदुराम भुसाल स्वतन्त्र हैसियतमा रहन सक्ने तर सांसद रहिरहन नसक्ने बताएका छन् ।

भुसालले आफू स्वतन्त्र सांसद रहन चाहेको भनेर संसद सचिवालयमा पत्र पठाएको सन्दर्भमा भट्टराईले सो धारणा सार्वजनिक गरेका हुन् । भुसालले पार्टी र आन्दोलनमाथि गद्दारी गरेको भन्दै भट्टराईले सामाजिक सन्जालमा लेखेका छन्, ‘यो पत्रसँगै उनले नेकपा एमाले परित्याग गरेको जनाएका छन् ।

पार्टी परित्यागपछि उनी स्वतन्त्र हुन सक्छन् तर सांसद भइरहन सम्भव हुँदैन । किनभने दुई पार्टीको एकतापछि नामको विषयलाई लिएर अदालतले गरेको फैसलाले एकताले निरन्तरता नपाएको अवस्थामा नेकपा एमाले र माओवादी केन्द्र दुई पार्टी हुने भनेको छ । त्यसबीचमा निर्वाचित राष्ट्रिय सभाका सदस्यलाई दुईमध्ये एक रोज्न सक्ने प्रावधान हुनसक्छ, त्योभन्दा पृथक स्वतन्त्र सांसद हुन सक्दैन ।’