देश

२० वर्ष पछि सुरु भयो सर्लाहीको सडक स्तरोन्नती गर्ने कार्य


काठमाडौँ – प्रदेश नम्बर २ अन्तर्गत सर्लाही जिल्लाको सदरमुकाम मलंगवा नगरपालिका क्षेत्रमा झण्डै २ दशकपछि सडक स्तरोन्नती कार्य सुरु भएको छ । लामो समयपछि पक्की सडकको निर्माणकार्य सुरु भएपछि स्थानीयबासीहरुमा खुसीयाली छाएको छ ।


सर्लाही जिल्लाको पुर्व–पश्चिम राजमार्ग देखि दक्षिणतर्फको नवलपुर–मलंगवा सडक खण्ड अन्तर्गत पर्ने मलंगवा नगरपालिका वडा नम्मर–१० स्थित जिल्ला विकास चोकदेखि वडा नम्मर ८ राजश्री सिनेमा हल चोकसम्म बजार एरियाको भित्री सडक निर्माणको कार्य अहिले तीब्र गतिमा चलिरहेको छ । लकडाउनको मौका पारेर दुबैतर्फ डेढ–डेढ मिटर नालासहित १२ मिटर चौडाइ र १७ सय मिटर लम्बाई रहने उक्त भित्री सडकमा अहिले धमाधम आरसिसी ढलान गर्ने कार्य भइरहेको छ ।

संघीय सरकार अन्तर्गत सहरी विकास मन्त्रालयको जम्मा १० करोड रुपैयाँ बजेटबाट उक्त नगर क्षेत्र सडकको निर्माण भइरहेको नगर प्रमुख निरसल साहले जानकारी गराए । यसअघि संघीय सरकारको मापदण्डअनुसार नवलपुरदेखी मलंगवासम्म ४२ मिटर चौडइको सडक बनाउने योजना रहेको थियो । तर सोही मापदण्डअनुसार बजार क्षेत्रमा ४२ मिटरमा सडक बनाउँदा सयौं स्थानीय बासिन्दाहरुको घरहरु पुर्ण रूपमा क्षतीहुने भएकोले सडक पनि बन्ने र क्षति पनि नहुने गरि नगर कार्यपालिकाको बोर्डको बैठकको निर्णयअनुसार अहिलेको मापदण्डअनुसार सडक बन्न लागेको नगरप्रमुख साहले बताए ।

मापदण्ड भित्र परेका घरहरु हटाउने क्रममा केही घरका सदस्यहरुबाट बाधा अवरोध भएपनि सम्बन्धित वडाका वडाध्यक्ष, जनप्रतिनिधि ,नगरपालिकाका कर्मचारी ,स्थानीय बुद्धिजीवीहरुको टोलीद्वारा सम्झाइबुझाइ निर्माणकार्यलाई अगाडी बढाउँदै लगिएको नगरप्रमुख साहले बताए ।
बजार क्षेत्रमा बन्दै गरेको सडकमा कालोपत्रे नगरी आरसिसी ढलान भएको भन्दै स्थानीयबासीहरुबाट विरोधको आवाज समेत उठेका थिए । तर नगरप्रमुख साहले वर्षाको समयमा मलंगवा बजार क्षेत्र डुवानमा पर्ने गरेकोले पिचले वर्षाको पानीलाई सहन नसक्ने र बनेको केही दिनमै भत्किन सक्ने भएकोले आरसिसी ढलान गर्नुपरेको प्रष्ट पारे ।

विगत लामो समयदेखि कैयौं मन्त्री ,सांसद तथा स्थानीय नेताहरुले उक्त सडक निर्माण गर्ने प्रतिवद्धता जनाएका थिए । तर प्रतिवद्धता जनाए अनुसार कसैले सडक निर्माणको लागि पहल नगरेको दुखेसो स्थानीयले पोखे । अब सडक बनेपछि विस्तारै अन्य सुविधाहरु पनि थपिने नगरबासीहरुको अपेक्षा रहेको छ ।

सदरमुकाममै पिच र ढलान नभएका कारण वर्षा याममा बजार क्षेत्र हिलाम्मे हुन ेगरेको थियो । ठाउँठाउँमा पानी जमेर पोखरीे जस्तै बन्ने गरेको साघुँरो सडकमा हिँड्न मुस्किल पर्ने गरेको थियो । वर्षौदेखी नगरको विकासको प्रतिक्षामा रहेका यहाँ नागरिकहरु अब ती समस्याहरुको समाधान हुने भएपछि दंग परेका छन् ।

पुर्व पश्चिम राजमार्ग अन्तर्गत लालबन्दी नगरपालिकाको नवलपुरदेखि मलंगवा हुँदै नेपाल भारत बोर्डरसम्म पुग्ने यो सडकको स्तरोन्नतिमा स्थानीयहरुले समेत नगरपालिकालाई पुर्ण रुपमा सधाइ रहेका छन् ।