राजनीति

महिना दिन नपुगेका मन्त्रीले कति दिनको तलब भत्ता पाउँछन् ?


काठमाडौँ – मन्त्री बनेको एक महिना पनि नपुगि पद गुमेपछि पदमुक्त २० मन्त्रीहरुका तलबका विषयमा चासो बडेको थियो । अब मन्त्रीहरुले कति दिनसम्मको तलब आउछ ? तीन साता पनि झण्डा हल्लाउन नपाई सर्वोच्च अदालतले पदमुक्त गरिदिएका २० मन्त्रीको तलब पाक्यो कि पाकेन ? भन्नेबारे आमजनताको त कुरै छोडौं स्वयम् निवर्तमान मन्त्रीहरू नै अलमलमा परेका छन् ।

मन्त्रीबाट हटेपछि तलब भत्ता नपाएको निवर्तमान मन्त्री लक्ष्मणलाल कर्णले बताए । उनले भने, ‘अहिलेसम्म केही पाएका छैनौँ । सरकारी व्यवस्था जे छ, त्यहीअनुसार दिने होला ।’ कोही मन्त्री यस्तो बताइरहदा कोही भने तलबभत्ता नलिने भएको छ । पूर्वगृहमन्त्री रामबहादुर थापा बालदका पत्नी तथा सञ्चार मन्त्रालय सम्हालेकी पूर्व मन्त्री नैनकला थापाले भने तलब सुविधा नलिने बताएको मन्त्रालयका कर्मचारीले जानकारी दिए ।

सबैको अन्योलतालाई हटाई अन्ततः सर्वोच्च अदालतले पदमुक्त गरेका २० मन्त्रीले १३ दिनको तलब पाउने भएका छन् । उनीहरूले मन्त्रीबाट बिदा भएपछिको ७ दिनको अतिरिक्त तलबसमेत पाउने भएका हुन् । सबै जोड्दा उनीहरूले २० दिनको पारिश्रमिक पाउने छन् ।

महिना दिन नपुग्दै सर्वोच्च अदालतको आदेशका कारण पदमुक्त भएका २० मन्त्रीहरूमध्ये केहीले १८ दिन काम गरेका थिए भने केहीले १२ दिन मात्रै काम गरेका थिए । पदमुक्त भएका २० जना मन्त्रीहरूले १३ दिनको तलब पाउने भएका हुन् । त्यसमा अवकाशपछिको ७ दिनको थप तलब सुविधाबापत पाउने व्यवस्था रहेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता शोभाकान्त पौडेलले रातोपाटीलाई जानकारी दिए ।

२०७८ वैशाख ३१ गते प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा गठन भएको मन्त्रीपरिषद्ले गत जेठ ७ गते दोस्रो पटक प्रतिनिधि सभा भङ्ग भएपछि जेठ २१ गते १० मन्त्री र २ राज्यमन्त्री र जेठ २७ गते ७ मन्त्री र एक राज्यमन्त्री थपेर मन्त्रीपरिषद् विस्तार गरेका थिए । सर्वोच्च अदालतले पदमुक्त गरेपछि १० मन्त्रीले १८ दिन र ७ मन्त्रीले १२ दिन मन्त्रीका रूपमा काम गर्ने अवसर पाएका थिए ।