राजनीति

पूर्वमन्त्री युवराज कार्कीलाई राजदूत नियुक्त नगर्न सर्वोच्चले दियो आदेश


काठमाडौँ – पूर्वमन्त्री युवराज कार्कीलाई राजदूतमा सिफारिस गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । गत वैशाख २५ गते मन्त्रिपरिषद बैठकले कार्कीलाई बहराइनको राजदूतमा नियुक्ति सिफारिस गरेको थियो ।

न्यायाधीश सपना प्रधान मल्ल र प्रकाशकुमार ढुंगानाको इजलासले सर्वोच्च अदालतले यसअघि नै सरकारले ल्याएको राजदूत नियुक्तिसम्बन्धी निर्देशिका २०७५ कार्यान्वयन नगर्न आदेश दिइसकेको भन्दै कार्कीलाई नियुक्ति नगर्न आदेश दिएको हो ।

राजदूत नियुक्तिसम्बन्धी निर्देशिका २०७५ मा राजदूतका लागि स्नातक उतीर्ण हुनुपर्ने व्यवस्था छ । सरकारले वैशाख २५ गते उक्त निर्देशिका संशोधन गरी मन्त्रीको रुपमा सेवा गरिसकेको व्यक्तिको हकमा यो दफा लागू हुने छैन भन्ने व्यवस्था राखेको थियो । र सोही दिन पूर्वमन्त्री कार्कीलाई राजदूतमा सिफारिस गरेको थियो ।