राजनीति

संसद विघटन मुद्दामा रिट निवेदकको बहस सकियो

देउवाको पक्षबाट ३६ जनाले गरे बहस


काठमाडौँ – सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा रिट निवेदक पक्षको बहस सकिएको छ । असार ९ गतेदेखि सुरु भएको रिट निवेदक शेरबहादुर देउवासहित १४६ सांसदको तर्फको बहस आइतबार सकिएको हो । चार दिनको बहसमा ३६ जना कानुन व्यवसायीले बहस गरेका थिए ।

अब इजलासमा विपक्षी अर्थात सरकार पक्षको तर्फबाट वहस हुनेछ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको नेतृत्वमा न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई संलग्न संवैधानिक इजलासमा संसद विघटनसँग सम्बन्धित ३० वटै रिटमाथि सुनुवाइ भइरहेको छ ।

रिट निवेदक पक्षले पाएको १५ घण्टामध्ये १२ घण्टा सकिएको छ । ३ घण्टा समय भने रिट निवेदकको विपक्षीले बहस गरेपछि जवाफ बहसका लागि छुट्याइएको छ । त्यस्तै एमिकस क्युरीका लागि २ घण्टा समय तोकिएको छ ।