राजनीति

भौतिक मन्त्री नदिने भए मुख्यमन्त्री चाहिने मनाङ्गेको माग


काठमाडौँ – गण्डकी प्रदेशमा गबन्धनको समर्थनमा मुख्यमन्त्री बनेका कृष्णचन्द्र नेपाली पोखरेलले आइतबार प्रदेशमा मन्त्रीहरुको अस्थायी कार्यविभाजन गरे ।

कुमार खड्काले शिक्षा संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालय र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी माओवादीबाट मन्त्री बनेकी मधुमाया अधिकारी गुरुङले पाउँदा दुई मन्त्रीले भने जिम्मेवारी लिन मानेनन् । जनता समाजवादी पार्टीका हरिशरण आचार्य र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) ले मन्त्री पद लिन नमानेका हुन् ।


मनाङेले भौतिक पूर्वाधार मन्त्रालयमा दाबी गरिरहेका छन् । मुख्यमन्त्रीले उनलाई तत्कालका लागि युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी तोकेका थिए । बिना विभागीय मन्त्री मनाङेले आफू भौतिक मन्त्रालयको जिम्मेवारी पाउने गरी कांग्रेससँग सहमति नै गरिसकेको भन्दै उनले आफू पछि नहट्ने बताए । ‘म र जसपा एउटै पार्टी भएर सरकारमा गएको हो । म एक्लै गएको होइन,’ मनाङले भने, ‘सुरुको एग्रिमेन्टबाट पछि हट्छन् भने यिनीहरुको समस्या हो । हाम्रो होइन ।’ मन्त्री मनाङेले आफूलाई भौतिक मन्त्रालय नदिए मुख्यमन्त्रीको जिम्मेवारी दिनुपर्ने माग राखे। ‘माओवादी र कांग्रेसले ४/४ वटा मन्त्रालय अनि हामी जसपासँग ३ वटा मन्त्रालय भनेर पहिल्यै कुरा भाको हो । अहिले उनीहरु लोभी भएर हुँदैन’, उनले भने, ‘मलाई भौतिक नदिए मुख्यमन्त्री दिन्छन् । मैले भन्दिसक्या छु ।’

अर्का बिना विभागीय मन्त्री जनता समाजवादीका हरिशरण आचार्य आफूहरुलाई २ मन्त्रालयको जिम्मेवारी नदिएसम्म पदभार ग्रहण नगर्ने बताए । उनले जसपाले पाउने सहमति भएको २ मन्त्रालयको जिम्मेवारी नदिएकाले आफूले पदभार ग्रहण नगरेको सुनाए। बिना विभागीय मन्त्रीको रुपमा शपथ ग्रहण गरेको करिब दुई हप्तासम्म पनि यी दुईको मन्त्रालयको टुंगो लाग्न सकेको छैन ।

प्रदेशमा मन्त्रालय बाँडफाँटमा किचलो बढेपछि केही दिनअघिमात्रै मुख्यमन्त्रीसहितको टोली काठमाडौं पुगेको थियो। उक्त टोलीले काठमाडौंमा कांगेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंह, जनमोर्चा नेपालका महासचिव मनोज भट्ट, जसपा संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईलगायतलाई भेटेको थियो ।

तर, उक्त भेट पनि ‘फलदायी’ नभई टोली पोखरा फर्किएको थियो । भेटका क्रममा अधिकांशले प्रदेशको कुरा प्रदेशमै मिलाउन सुझाव दिएको टोलीमा समावेश एक मन्त्रीले बताए । ती मन्त्रीले मनमोहनविक्रम सिंहलाई जनमोर्चालाई पनि सरकारमा सहभागी हुन आग्रह गरिएको बताए । तर उनले आफूहरु प्रतिगमनविरुद्धको लडाइँमा मात्रै साथ दिएकोले सरकारमा नजाने तर, गुण र दोषको आधारमात्रै सहयोग गर्ने जवाफ दिएको ती मन्त्रीले बताए ।