कोरोना विशेष

ठाँगु गुम्बाद्वारा खिजीदेम्बाका ४ स्वास्थ्य चौकीलाई अक्सिजन कन्सन्ट्रेटर वितरण

राज्यले पहुँचको आधारमा अक्सिजन वितरण गर्दा विकट गाउँहरु ओझेलमा : गोम्बु शेर्पा


काठमाडौँ – ठाँग गुम्बा अर्थात् नमो बुद्ध बौद्ध धर्म ध्यान तथा शिक्षण केन्द्रले ओखलढुंगा जिल्लाको खिजीदेम्बा गाउँपालिका ४ वटा स्वास्थ्य संस्थालाई अक्सिजन कन्सन्ट्रेटर सामग्री सहयोग गरेको छ  ।

स्वार एक्सनको सहयोगमा गुम्बाका अध्यक्ष वोङछु थुप्तेन लामा र महासचिव आचार्य पासाङ वोङदु लामाले ४ थान अक्सिजन कन्सन्ट्रेटर समाजसेवी तथा जसपाका प्रदेश नं. १ सदस्य गोम्बु शेर्पालाई आइतबार हस्तान्तरण गर्नुभएको हो ।

समाजसेवी गोम्बु शेर्पाको अनुरोधमा आवश्यकताको पहिचान गरी खिजिदेम्बा गाउँपालकाको दोराखर्क सामुदायिक स्वास्थ्य चौकी, भूसिगां स्वास्थ्य चौकी, लाम्चे बौद्ध स्वास्थ्य चौकी र भन्से स्वास्थ्य चौकीलाई अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराइएको महासचिव लामाले बताउनुभयो ।
कोरोना जोखिमका बीच ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थामा अक्सिजन अभावको समस्या नहोस् भनेर अक्सिजन कन्सन्ट्रेटर वितरण गरिएको अध्यक्ष लामाले बताउनुभयो । आवश्यकताको पहिचान गरी समाजसेवीमार्फत पालिकाको स्वास्थ्य संस्थालाई अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराइएको उहाँले बताउनुभयो ।

पछिल्लो समय कोरोना संक्रमित बिरामीहरु अक्सिजन अभावका कारण ज्यान गुमाइरहेका र विकट गाउँहरुमा अक्सिजन अभावका कारण धेरै पैसा खर्च गरेर काठमाडौँ उपचार गर्न ल्याउन बाध्यता रहेको अवस्थामा गुम्बाले अक्सिजन कन्ट्रेटर सहयोग गरेकोमा उहाँले खुसी व्यक्त गर्नभयो । शेर्पाले अब ४ वटा वडामा अक्सिजन कन्सन्ट्रेटर पुगेपछि गाउँमा धेरै ठुलो सहयोग हुने बताउनुभयो ।

उहाँले राज्यले पहुँचको आधारमा अक्सिजन कन्सन्ट्रेटर वितरण गर्द विकट गाउँहरु ओझेलमा परेको र अस्पताल र होम आइसोेलेसनमा अक्सिजन अभावमा बिरामी छट्पटाइरहेको बताउनुभयो ।

गुम्बाले निषेधाज्ञा लम्बिदै जाँदा दैनिक ज्याला मजदुरी गरेर जिविका चलाउँदै आएकाहरुलाई एक महिनाका लागि निःशुल्क खानासमेत वितरण गर्दै आएको छ । गुम्बाले विभिन्न् जिल्लामा २ सय अक्सिजन कन्सन्ट्रेटर वितरण गरेकोे महासचिव लामाले बताउनुभयो ।