राजनीति

मनाङ्गेको पार्टी नयाँ मन्त्रालय पुरानै


काठमाडौँ – गण्डकी सरकारले मन्त्रीको कार्यविभाजन टुंगो लगाएको छ । आइतबारसम्ममा मन्त्रीको कार्यविभाजन औपचारिक रुपमा हुने सहमति भएको छ ।

गत जेठ २९ गते चार मन्त्रीले सपथ लिए पनि अहिलेसम्म जिम्मेवारी पाएका छैनन् । उनीहरुलाई आइतबार जिम्मेवारी दिने तयारीमा गण्डकी सरकार छ ।

गण्डकी सरकारका प्रवक्ता कुमार खड्काले शुक्रबार टुंगो लगाउने तयारी गरेपनि छलफल नटुंगिएकाले आइतबारसम्म कार्यविभाजन टुंग्याउने सहमति भएको बताउनुभयो ।

अहिलेसम्म चार मन्त्रीलाई कुनकुन मन्त्रालयको जिम्मेवारी दिने भन्ने सहमति भइसकेको तर अन्तिम टुंगो भने लाग्न बाँकी छ ।

अहिलेसम्म भएका सहमतिअनुसार, जनता समाजवादी पार्टीका हरिशरण आचार्यले उर्जा, जलस्रोत तथा सिचाई मन्त्रालयको जिम्मेवारी पाउँदैछन् । उनले अर्थ मन्त्रालयको दावी गरेका थिए ।

राजीव गुरूङ ‘दीपक मनाङ्गेले साबिककै युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् । एमाले नेता पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारमा पनि मनाङ्गेले सोही मन्त्रालय पाएका थिए । अहिले कांग्रेस नेतृत्वको गठबन्धन सरकार बनाउन निर्णायक भूमिका खेलेका मनाङ्गेले पनि यसअघि भौतिक पूर्वाधार विकास मन्त्रालयमा दाबी पेश गरेका थिए ।