राजनीति

गण्डकीमा मिल्यो भागबण्डा : कसलाई कुन मन्त्रालय ?


काठमाडौँ – गण्डकी प्रदेश सरकारमा सहभागी मन्त्रीहरुको भागबण्डाको टुंगो लगाएको छ । जेठ २९ गते मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलसहित ५ जनाले विना विभागीय मन्त्रीको रुपमा शपथ लिएका थिए।

दलहरुबीच सहमती भए अनुसार नेपाली कांग्रेसबाट सरकारमा सहभागी कुमार खड्काले समाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् । यस अघि उनले अर्थ वा भौतिक विकास मन्त्रालयमा दाबी गर्दै आएका थिए।

माओवादी केन्द्रबाट मन्त्री बनेकी मधुमाया अधिकारीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी पाउने भएकी छन् । जनता समाजवादी पार्टीका हरिशरण आचार्यले उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय सम्हालेका छन् ।

यस अघि आचार्यसँग मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले अर्थमन्त्रालय दिने गरी सहमती गरेका थिए । स्वतन्त्र सांसद दीपक मनाङेलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

उक्त जिम्मेवादी दिइएको जानकारी प्रदेश प्रमुखलाई दिने तयारी भइरहेको प्रवक्ता कुमार खड्काले बताए । गण्डकी प्रदेशमा ११ मन्त्रालय छन् । अझै ६ मन्त्रालयमा मन्त्री नियुक्ति गर्न बाँकी छ ।

अर्थ, भौतिक पूर्वाधार, आन्तरिक मामिला तथा कानुन, कृषि, पर्यटनलगायतका मन्त्रालय भने मुख्यमन्त्री पोखरेलले आफूसँग राखेका छन् । जेठ २९ गते गण्डकी प्रदेशमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र स्वतन्त्र सांसदको गठबन्धनले सरकार बनाएको थियो ।