राजनीति

एजेण्डा विहिन कांग्रेस सभापतिका आकांक्षीहरु

देउवा नेतृत्वका कारण पार्टीले चुनाव हारेको, पार्टी विधान बमोजिम नचलेकोले उनको विकल्प खोज्नुपर्ने ईतर नेताहरुको भनाइ छ ।


काठमाडौँ – कांग्रेसको चौधौ महाधिवेशनको मिति तय भएसंगै सभापतिका लागि शीर्ष नेताहरुको सक्रियता बढेको छ । संस्थापनबाट शेरबहादुर देउवा र विमलेन्द्र निधिले सभापतिमा दाबी गरे पनि ईतरबाट औपचारिक दाबी आएको छैन । त्यस्तै महामन्त्रीलगायतका पदहरुका उमेद्वारीको विषयमा छलफल नै सुरु भएको छैन । यता सभापतिको आकांक्षीका रुपमा चर्चा भएकाहरु समेत एजेण्डा विहिन देखिएका छन् ।

नेपाली कांगे्रसको महाधिवेशन आउन डेढ महिना बाँकी छदाँ सभापतिका लागि शीर्ष नेताहरुमा दौडधुप सुरु भएको छ । संस्थापनबाट वर्तमान सभापति शेरबहादुर देउवा र उपसभापति विमलेन्द्र निधिले आफ्नो दाबी प्रस्तुुत गरिसकेका छन् । तर देउवाको विकल्प खोज्नुपर्ने बताउदै आएको रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला गुटबाट भने कसैले औपचारिक दाबी गरेका छैनन् । यद्दपी सभापतिका आकांक्षीको संख्या भने एक दर्जन बढी देखिएको । यसरी आकंक्षी बढ्नुमा अबको कांग्रेस नेतृत्वमा युवा पुस्ता उदाउने डरले काम गरेको विश्लेषकहरु बताउछन । अर्थात पार्टीभित्रै ‘युवा’ भनेर आजसम्म नपत्याएकाहरुले ‘बुढा’ भनेर भाउ दिन छाड्दै जाने डर शीर्ष नेतृत्वमा देखिएको छ । फलत एजेण्डा भन्दा पनि अन्तिम पटक पार्टीको नेतृत्व हात पार्ने दौडमा शीर्ष नेताहरु देखिएका छन् । बाहिर देउवा ईतरका एकजुट भएर पार्टीलाई नयाँ दिशा दिनेगरी नेतृत्वमा जाने चर्चा चलेपनि उनीहरुको सोच कसरी आफू नेतृत्वमा जाने भन्नेमै केन्द्रीत रहेको विश्लेषकहरुको तर्क छ ।

हुन त सभापतिको आकक्षीं को को हुन भनेर अन्तिम दाबी आईसकेको छैन । फलत महामन्त्री लगायतका अन्य पदहरुमा को को जाने भन्ने विषय छलफल मै आएको छैन । यूवामा नेतृत्व हस्तान्तरणको यो उपयुक्त समय भएको बताईएपनि युवा नै बुढा नेतासंग मिलेर आफ्नो पद जोगाउन लागि परेका छन । देउवा, निधि, शेखर, शशांक, रामचन्द्र पौडेलमध्ये जोकोहीले महामन्त्री बनाउन सक्ने सम्भावित अनुहारमा गगन थापा, विश्वप्रकाश शर्मा, प्रदीप पौडेललगायत देखिँदैछन् । धनराज गुरुङ, जीवन परियार, चन्द्र भन्डारी, सरिता प्रसाई, कल्याण गुरुङसमेतलाई उनीहरूले समेट्न खोजेको देखिन्छ । यसैकारण पनि उनीहरुले सभापतिमा औपचारिक दाबी नगरेको बुझिएको छ । यसको मतलब अनौपचारिक हल्ला चलाएर उपयुक्त पद पाए छोड्ने मनस्थितीमा रहेका उनीहरुमा एजेन्डाको प्राथमिकतामा परेको छैन । तर नेताहरु भने अधिवेशन सुरु हुन लामो समय बाँकी भएकोले सभापतिको उमेद्वार नै कति रहन्छन भन्ने प्रष्ट नभएको बताउँछन् । अन्तिम समयसम्ममा ३ जनासम्मको उमेद्वारी कायम हुनसक्ने सम्भावना भएकोले अहिले एजेन्डाको विषयमा कुरा गर्ने समय नभएको उनीहरुको भनाई छ ।

हुन त गत महाधिवेशनमा महामन्त्रीमा गगन थापाको हारले युवा नेताहरु सभापतिको उमेद्वारी दिने दुस्साहस मोल्न तयार नभएको धेरैको बुझाइ छ । तर देउवा नेतृत्वका कारण पार्टीले चुनाव हारेको, पार्टी विधान बमोजिम नचलेकोले उनको विकल्प खोज्नुपर्ने ईतरको नेताहरुको भनाइ छ । तर के उनीहरु देउवालाई टक्कर दिन पार्टी सुदृढिकरणको एजेन्डा बनाएर अघि आउन तयार छन त ? जसको उत्तर हालसम्मको परिस्थतीले छैन भन्ने देखिन्छ ।