राजनीति

कांग्रेसमा सभापतिका लागि होडबाजी


काठमाडौँ – कांग्रेसको महाधिवेशन नजिकिदै गर्दा शीर्ष नेताहरुको भेटघाट र छलफलले तिव्रता पाउन थालेको छ । कांग्रसका धेरै नेताहरु यस १४ औं महाधिवेशनमा सभापति पदका लागि उम्मेदवारी दिने तयारीमा रहेको छ । त्यसै विषयमा छलफल गर्न तीन नेता उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा शशांक कोइराला र नेता प्रकाशमान सिंहबीच शुक्रवार महामन्त्री कोइरालाको निवास महाराजगञ्जमा छलफल भएको छ । यो उनीहरुको दोस्रोपटकको छलफल हो । यस अघि असार आठ मंगलवार निधिको निवासमा यीनै तीन नेताका बीच छलफल भएको थियो ।

छलफलमा महाधिवेशनमा नयाँ समीकरण बनाएर जाने विषयमा छलफल भएको नेताले बताएका छन् । तर, उनीहरूबीच कुनै सहमति जुटिसकेको भने छैन । शुक्रवारको छलफलपछि नेता निधिले आफूहरूबीचको छलफलले देशभरका कार्यकर्तामा उत्साह थपिएको बताए ।

नेता प्रकाशमान सिंहले पनि छलफल सकारात्मक रहेको र आगामी दिनमा पुनः छलफल गरिने बताए । कांग्रेस संस्थापक नेताहरू बीपी कोइराला, गणेशमान सिंह र महेन्द्र नारायण निधिका परिवारका सदस्यहरूको गठजोडले कांग्रेसमा नयाँ तरंग सिर्जना गरेको छ । महामन्त्री कोइरालाले आफूहरुले थप छलफल गर्ने बताएका छन् ।

लामो समय सभापति शेरबहादुर देउवाको क्याम्पमा रहेका निधिले सभापतिमा उठ्ने अठोट लिएपछि कांग्रेसमा समीकरण परिवर्तनको संकेत देखिएको हो । कांग्रेसको महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा हुँदैछ । सभापतिका लागि केन्द्रीय सदस्य डा.शेखर कोइरालाले लामो समयदेखि गृहकार्य गरिरहेका छन् ।

नेत्री सुजाता कोइरालाले पनि सभापतिमा उठ्ने दाबी गरेकी छिन् । तर, कोइराला परिवारबाट एकमात्र उम्मेदवार बनाउने गरी गृहकार्य भइरहेको स्रोतको भनाइ छ । यसअघि शशांकलाई महामन्त्रीमा समर्थन गरेका शेखरले यसपटक आफूलाई सघाउन शशांकलाई आग्रह गरिरहेको स्रोतले बतायो । कोइराला परिवारबाट एउटा मात्र उम्मेदवार बनाउने रणनीति स्वरूप नै सुजाता कोइराले दाबी गरेको सम्बद्ध स्रोतले दाबी गर्‍यो ।