राजनीति

माओवादी बाट एमाले प्रवेश गरेका स्थानीय तहका १४ जनप्रतिनिधिहरुको पद रिक्त

योहो संवाददाता

काठमाडौँ नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएर नेकपा एमालेमा प्रवेश गरेका स्थानीय तहका १४ जनप्रतिनिधिहरुको पद रिक्त भएको छ । निर्वाचन आयोगलेआज सूचना जारी १४ जनप्रतिनिधिको पद रिक्त भएको जानकारी दिएको हो ।

पद रिक्त भएकाहरुमा रौतहटका ७ जनप्रतिनिधि छन् । कैलालीका ४ जना तथा सिरहा, ओखलढुंगा र महोत्तरीका एक–एक जना छन् । ७ असारमा बसेको माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकले उनीहरुलाई पार्टीबाट निष्कासन गरेको औपचारिक निर्णय गरी त्यसको जानकारी निर्वाचन आयोगलाई गराएको थियो ।

त्यसअघि बसेको माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकले दल त्याग गरेकाहरुलाई कारबाही गर्ने निर्णयको अधिकार अध्यक्ष प्रचण्डलाई दिएको थियो । सोही अधिकारअनुसार माओवादी केन्द्रले निर्वाचन आयोगमा कारबाहीबारे जानकारी गराएको थियो । तर, आयोगले केन्द्रीय समितिको बैठकबाट कारबाहीको निर्णय नभएको भन्दै दल त्यागको सूचना जारी गरेको थिएन ।