राजनीति

ठाकुर पक्षले सोध्यो यादव पक्षलाई २४ घण्टे स्पष्टीकरण


काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर-राजेन्द्र महतो पक्षले उपेन्द्र यादव पक्षका दुई जना प्रदेश सभा सदस्यलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । लुम्बिनी प्रदेश सभा सदस्य सहसराम यादव र पुर्मती ढेंगालाई स्पष्टीकरण सोधिएको हो ।

लुम्बिनी प्रदेश सभामा सरकारको नीति तथा कार्यक्रमका पक्षमा मतदान गर्न जारी गरिएको ह्वीप उल्लंघन गरेको भन्दै उनीहरूलाई स्पष्टीकरण सोधिएको जसपाका कार्यकारिणी सदस्य केशव झाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रदेश सभामा यादव पक्षले विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको थियो भने ठाकुर पक्षले पक्षमा मतदान गर्न ह्वीप जारी गरेको थियो । लुम्बिनीमा ठाकुर पक्षका चार सांसद छन्। उनीहरू सबै मन्त्री छन् ।

सन्तोषकुमार पाण्डेय भौतिक पूर्वाधार विकास, विजयबहादुर यादव भूमि व्यवस्था, कृषि तथा सहकारी, कल्पना पाण्डे उद्योग, वन तथा वातावरणमन्त्री र सुमन शर्मा रायमाझी भौतिक पूर्वाधार विकास राज्यमन्त्री छन् । सरकारमा सहभागी भएपछि उनीहरूलाई पदमुक्त गरिएको थियो । तर, सर्वोच्च अदालतको अन्तरिम आदेशबाट उनीहरूको पुनर्बहाली भएको थियो ।

सरकारको नीति तथा कार्यक्रममा ठाकुर पक्षले पक्षमा मत दिएको थियो । यादव पक्षले विपक्षमा मत दिएका थिए ।