विदेश

महावीरको आविष्कार केन्दलाई शेर्पा किदुक साइप्रसको आर्थिक सहयोग


काठमाडौँ – शेर्पा किदुक साइप्रसले सामाजिक अभियन्ता महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग उपलब्ध गराएको छ । किदुकले साइप्रसका सदस्यहरुबाट संकलित एक लाख ६१ हजार ४० रुपैयाँ शनिबार शेर्पा सञ्चार समूह नेपालका अध्यक्ष पासाङ शेर्पाले राष्ट्रिय आविष्कार केन्द्रका कार्यवहाक प्रमुख किशोर रिमाललाई उपलब्ध गराउनुभएको हो ।


शेर्पा किदुकका सदस्यहरु र विभिन्न व्यक्तिसँग संकलन गरेको रकम कोभिडको उपचारसँग सम्बन्धित स्वास्थ्य उपकरणहरू निर्माणका लागि सहयोग गरिएको संस्थाका अध्यक्ष निमादिकी शेर्पाले जानकारी दिनुभयो ।

सामाजिक क्षेत्रमा विभिन्न काम गरिरहेको शेर्पा किदुक साइप्रसले फजुल खर्च कटाएर कोभिडको उपचारका लागि अवश्यक स्वास्थ्य सामग्री/उपकरण निर्माण गर्नका लागि सहयोग संकलन गरेको अध्यक्ष शेर्पाले बताउनुभयो ।

निषेधाज्ञाले पूरै उपत्यका सुनसान बन्दा पनि राष्ट्रिय आविष्कार केन्द्रमा भने कोभिड महामारीबीच पनि युवा वैज्ञानिकहरू पिपिई, भेन्टिलेटर, मास्क, कोरोना टेस्टिङ बुथ, रोबोटलगायत सुरक्षा उपकरण बनाउन सक्रिय छन् ।

कोभिड महामारी एकैसाथ विश्वभरि फैलिएपछि सुरुवाती समयमा पिपिई र मास्कको चरम अभाव देखियो । अग्रपंक्तिमा खटिएर कोभिड संक्रमितको उपचारमा गर्नुपर्ने स्वास्थ्यकर्मीले पनि पिपिई र मास्क पाउन नसकेपछि पुनले राष्ट्रिय आविष्कार केन्द्रबाट उत्पादन गरी वितरण गरेका थिए । उनले अहिलेसम्म १२ हजारभन्दा बढी पिपिई गाउन ५८ जिल्लाका तीन सयभन्दा बढी हस्पिटल, प्राथमिक स्वास्थ्यचौकी, कोरोना आइसोलेसन सेन्टरलगायतलाई वितरण गरिसकेका छन् ।

राष्ट्रिय आविष्कार केन्द्रले कोभिडको उपचारसँग सम्बन्धित पिपिई, फेस सिल्ड, कोरोना स्वाब कलेक्सन बुथ, एरोसल बक्स, भेन्टिलेटर, युभिसी डिसइन्फेक्सन बक्स, नर्सिङ रोबोट, स्वाब संकलन गर्ने सुइरो नसल स्वाब, डेड बडी बक्स र मास्कका लागि चाहिने फेब्रिकलगायत स्वास्थ्य उपकरणहरू बनाइरहेको छ ।

पुनले नयाँ प्रविधिको ‘न्यु मेटिक मास्क’ बनाएर ६५ वटा वितरण गरिसकेका छन् । यो मास्कको माग आइरहेको हुनाले थप उत्पादन गरिरहेको उहाँले बताउनुभयो । कोभिडको संक्रमितको गम्भीर उपचारमा प्रयोग गर्न नयाँ भेन्टिलेटर बनाएर परीक्षण भइरहेको छ ।