समाचार

उपत्यकामा निषेधाज्ञा लम्बिने, मोडालिटी फरक गरी थप खुकुलो भने हुने


काठमाडौँ – काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञालाई थप खुकुलो बनाएर लम्ब्याउने तयारी गरिएको छ । निषेधाज्ञाबारे आवश्यक निर्णय लिन काठमाडौँ, भक्तपुर र ललितपुर उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठक आज दिउँसो बस्दैछ ।


बैठकले उपत्यकामा निषेधाज्ञा थप गर्ने र कुन–कुन क्षेत्र खुल्न दिने भन्नेबारे निर्णय गर्ने छ । अहिले खाद्यान्न र तरकारी पसल बिहान ११ बजेसम्म खोल्न पाइन्छ भने निर्माण सामग्री विक्री गर्ने पसल अपरान्ह ४ बजेपछि खुल्दै आएका छन् । कोरोना संक्रमित घट्दै गए पनि जोखिम भने कायमै रहेकोले निषेधाज्ञा एक साता बढाउने तयारी रहेको प्रमुख जिल्ला अधिकारीहरूले बताएका छन् ।


यसअघि सीसीएमसी बैठकले असार दोस्रो सातादेखि स्मार्ट लकडाउन गर्ने निर्णय गरेको थियो । जोर–बिजोर कायम हुने गरी सवारी साधन चल्न दिने, सरकारी कार्यालयमा भीड कम गर्न सातामा दुई दिन बिदा दिनेजस्ता विकल्प अगाडि सारिए पनि निर्णय भएको छैन ।