देश

देशका अधिकांश भू-भागमा पुनः भारी वर्षा, महाकाली र सेती नदीमा खतरा


काठमाडौँ – देशमा अधिकांश भूभागमा आजबाट पुनः भारी वर्ष हुन थालेको छ । गत सोमबारदेखि आएको लगाताको वर्षाले सिन्धुपाल्चोक, लम्जुङ, मनाङलगायतका जिल्लामा बढी क्षति पर्याएसँगै पानी पर्न कम भईसकेको बेलामा आजबाट फेरि पानी पर्न थालेको छ ।


सुदूरपश्चिमका पहाडी जिल्लामा लगातार भइरहेको वर्षाका कारण महाकाली नदीमा पानीको सतह बढ्न थालेको छ । महाकाली नदीको शारदा ब्यारेजमा शुक्रबार राति एक लाख मापन गरिएको पानीको सतह आज बिहान ८ बजेतिर एक लाख ६५ हजार क्युसके थियो । दिउँसो मापन गर्दा बढेर एक लाख ७५ हजार क्युसेक पुगेकाले सतह बढ्दै गएको देखिन्छ । नदीमा पानीको सतह वृद्धि हुँदै गएपछि निर्माणाधीन महाकाली पुलमा लगाइएको माटोको ड्याम पनि काट्न थालेको छ भने नदी क्षेत्रका बासिन्दालाई सुरक्षित साथ बस्न आग्रह गरिएको छ ।


त्यसैगरी बझाङमा सेती नदीले खतराको सतह पार गरेको छ । सेती नदीस्थित पानकोटमा राखिएको जलमापन केन्द्रमा पानीले खतराको सतह पार गरेको हो । नदीमा पानीको बहाब बढेसँगै नदी किनारामा कटान सुरु गरेको छ । यता गएराती मेलम्ची खोलामा आएको बाढीले सिन्धुपाल्चोकको हेलम्बु इलाका प्रहरी कार्यालयको तीन तले भवन ढलाएको छ । बाढीको उच्च जोखिम भएकोले प्रहरीले सो भवन छोडिसकेको थियो । यस्तै ग्याल्थुममा रहेको इष्ट पोइन्ट माध्यमिक बिद्यालयको भवन रहेको जमिन कटान हुँदा ढल्ने अवस्थामा पुगेको छ ।