राजनीति

काँग्रेसमा महाधिवेशनको सरगर्मी, भदौमा होला त ?

बागीलाई सदस्यता नदिने


काठमाडौँ – भदौभित्रै १४ औं महाधिवेशन नगरे नेपाली काँग्रेसको वैधानिकता नै गुम्ने खतरा छ । पार्टी विधान र राजनीतिक दलसम्बन्धी ऐनले तोकेको समयसीमामा महाधिवेशन नगर्दा संविधानले दिएको थप ६ महिनाको सुविधा पनि आगामी भदौमा सकिदैछ । यहि समय सीमाको दबाबमा परेको काँग्रेसले क्रियाशिल सदस्यताको पाटो टुंग्याउने कामलाई तिव्रता दिइरहेको छ ।

क्रियाशिल सदस्यकै विवादलाई लिएर लामो उल्झनमा परेको नेपाली काँग्रेसले १४ औं महाधिवेशनको मिति सारेको सारेई छ । यसअघि भदौ ७ देखि १० लाई महाधिवेशनको मिति तय गरेको काँग्रेसले शनिबार बसेको शीर्ष नेतासहितको केन्द्रीय पदाधिकारी बैठकबाट भदौ १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने गरी कार्यतालिका संशोधन गरेपछि काँग्रेसभित्र महाधिवेशनको सरगर्मी सुरु भएको छ ।

महाधिवेशनलाई लिएर समय तन्काउँदै आएको आरोप लाग्दै आएका सभापति शेरबहादुर देउवा पनि भदौभित्रै महाधिवेशन गर्नुपर्ने ध्याउन्नमा अघि बढेका छन् । पार्टीको स्थानीय तहदेखि केन्द्रीय नेतृत्व चयन गर्नुअघि क्रियाशिल सदस्यता टुङग्याउनु पर्ने व्यवस्था बमोजिम असार मसान्तभित्रै सदस्यतावितरण गरिसक्ने समयसीमा काँग्रेसले तोकेको छ ।

काँग्रेसमा क्रियाशिल सदस्यतालाई लिएर हरेक महाधिवेशनमा विवाद हुँदै आएको छ । स्थानीय तहदेखि केन्द्रीय नेतृत्व चयन गर्न महत्वपूर्ण भूमिका रहने भएकाले महाधिवेशनको परिणाम आफ्नो पक्षमा पार्न क्रियाशिल सदस्यतामा चलखेलसमेत हुने गरेको छ । पाँच लाख क्रियाशिल सदस्य रहेको काँग्रेसमा चौधौं महाधिवेशनसम्म १० लाख पुग्ने नेताहरु बताउँछन् । तर प्रजातान्त्रिक दल कांग्रेसभित्र अब कठोर निर्णय लागु हुने भएको छ ।

यसअघि पार्टीका उम्मेद्वारमाथि बागी हालेका व्यक्तिलाई काँग्रेसले क्रियाशिल सदस्यबाट बञ्चित गर्ने भएको छ । यसअघिको निर्वाचनमा पार्टीका उम्मेद्वारलाई हराउन बागी हालेका नेता, समर्थक र प्रस्तावकलाई क्रियाशिल सदस्यता नदिने काँग्रेसले निर्णय गरेको हो । जसअनुसार पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई हराउन बागी हालेका पूर्वसहमहामन्त्री गोविन्दराज जोशी, आरजु राणा देउवालाई २०७४ को चुनावमा असहयोग गरेका पुष्करनाथ ओझालगायत २ सय ७९ बढीले क्रियाशिल सदस्यता नपाउने भएका छन् । त्यसबाहेक जिल्लामा पार्टीका उम्मेद्वार हराउन लागिपरेका बागीलाई समेत क्रियाशिल सदस्यता नदिन काँग्रेसले परिपत्र गरेको छ ।

कांग्रेसले क्रियाशिल सदस्यता वितरणमा विवाद भएकै कारण महाधिवेशन लब्याएको भने स्वीकारेको छैन । देशमा कोभिडको महामारीले सिर्जित समस्याले महाधिवेशनमा चुनौति रहेपनि १६५ मध्य १४९ निर्वाचन क्षेत्रमा क्रियाशिल सदस्यताको काम सकिएको काँग्रेसको भनाई छ । जबकि केही जिल्लाहरुमा विवाद कायमै छ ।

शुक्रबार मात्रै मोरङको क्षेत्र नम्बर ४ को कार्यालयमा नेता कार्यकर्ताहरुले तालाबन्दी गरेका छन् । योग्य व्यक्ति भन्दा नजिकका व्यक्तिलाई क्रियाशिल सदस्यता दिन खोजेपछि विवाद भएको हो । अझै पनि कतिपय जिल्लामा विवाद मत्थर नभएकाले काँग्रेसलाई तोकिएकै मितिमा महाधिवेशन गर्न चुनौति नै देखिएको छ । तर भदौभित्र नगरे पार्टीको वैधानिकता नै गुम्ने खतरा रहेकोले महाधिवेशन गर्नुको विकल्प नै देखिदैन ।