राजनीति

महाधिवेशन नगराएको कलंक बोक्न तयार छैन : सभापति देउवाले


काठमाडौँ – कांग्रेस सभापति शेरबहादुर देउवाले महाधिवेशन हुँदैन कि भनेर शंका नगर्न आग्रह गरेका छन् । बिहीबारको केन्द्रीय समिति बैठकको सुरुवातमै भूमिका बाँधेर देउवाले महाधिवेशन गराउँदैन कि भनेर आशंका नगर्न आग्रह गरेका हुन् ।

देउवाले महाधिवेशन नगर्ने सबै विकल्प सकिएको बताउँदै महाधिवेशन सम्पन्न गर्ने एकमात्रै विकल्प बाँकी भएको बताएका थिए । “महाधिवेशन नगराएको कलंक र अपराधको भारी बोक्न म तयार छैन,” देउवाले भनेका थिए, “महाधिवेशन गराउँदैन कि भनेर आशंका नगर्नुस् । महाधिवेशन हुन्छ हुन्छ हुन्छ, आरोप प्रत्यारोप पनि बन्द गर्नुस् ।” उनले भने ।

केन्द्रीय सदस्य मीन विश्वकर्माका अनुसार देउवाले महाधिवेशन सार्न सक्ने सबै विकल्प सारिसकिएको बताउँदै अब जसरी पनि महाधिवेशन गर्ने बताएका थिए । “अब महाधिवेशन सार्नसक्ने सबै विकल्प सकिए, महाधिवेशन एकमात्र विकल्प बाँकी छ भनेर उहाँले भन्नुभयो,” देउवाको भनाइ उद्धृत गर्दै विश्वकर्माले भने,“संविधान संशोधन गरियो भनेमात्रै महाधिवेशन सार्न सकिन्छ त्यो सम्भावना अहिले छँदै छैन, त्यो पनि नियन्त्रणबाहिरको कुरा हो ।”