समाचार

बाढीपहिरोबाट भएको क्षतिप्रति पूर्वराजाद्वारा दुःख व्यक्त, महामारी र विपद् न्यूनीकरणमा सबैले योगदान गरौं


काठमाडौँ – पूर्वराजा ज्ञानेन्द्र शाहले बाढी पहिरो र नदी कटानबाट भएको धनजनको क्षतिप्रति दुख व्यक्त गरेका छन् । पूर्वराजा शाहले बिहीबार बिहान सन्देश जारी गर्दै बाढीपहिरोबाट धनजनको क्षति तथा ग्रामीण तथा सहरी क्षेत्रका बासिन्दाहरूको उठीबास लागेको खबर सुन्दा–देख्दा दुखित भएको जनाएका हुन् ।

कोभिड महामारीले मुलुक आक्रान्त भइरहेको समयमा प्राकृतिक विपत्ति थपिएको जनाउँदै उनले तीव्र वर्षातको समयमा अझ के के हुने हो भनेर चिन्ता व्यक्त गरेका छन् । पूर्वराष्ट्रप्रमुख शाहले सबै मिलेर महामारी र प्राकृतिक विपत्तिको न्यूनीकरणतर्फ जिम्मेवार बन्नुपर्ने दायित्वसमेत स्मरण गराएका छन् । तत्काल राहत र उद्धारमा सम्बन्धित पक्षको ध्यान जानुपर्ने भन्दै पूर्वराजाले “अवस्था विकराल नहोस्, अपार क्षति नहोस् र जनकल्याणकारी प्रबन्ध प्रभावकारी होस्” भनी आग्रह पनि गरेका छन् ।