राजनीति

कांग्रेसको केन्द्रीय समितिको बैठक आज, महाधिवेशनबारे छलफल हुने


काठमाडौँ – नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक बिहीबार (आज) बस्दैछ । समितिको बैठक केन्द्रीय कार्यालय सानेपामा आज दिउँसो २ बजे बस्न लागेको हो ।


बैठकमा भदौ १६ गतेबाट हुने भनिएको पार्टीको १४ औं महाधिवेशनको बारेमा छलफल हुने बताइएको छ । पछिल्लो पटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी बैठकले महाधिवेशनको मिति हेरफेर गरेको थियो । यसअघि भदौ ७ देखि गर्ने तय भएको महाधिवेशन भदौ १६ देखि गर्ने गरी प्रस्ताव गरेको थियो। उक्त प्रस्तावको बारेमा आज छलफल हुनेछ । कोरोना महामारीका कारण क्रियाशील सदस्यता वितरण र नवीकरणका काममा ढिलाइ हुँदा पूर्वनिर्धारित कार्यतालिका केही हेरफेर गरी महाधिवेशन गर्ने भएको हो ।


भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने गरी तयारी गरिएको छ। कोरोना महामारी कायमै रहेको अवस्थामा कसरी महाधिवेशन गर्ने भन्नेबारे पनि आज बैठकमा छलफल हुने बताइएको छ।