देश

बौदीखोलामा आएको बाढीले निर्माणधिन पक्की पुल बगायो


काठमाडौँ – सोमबार साँझदेखि निरन्तर परेको वर्षाले बौदीकालीमा निर्माणाधीन पक्की पुल बगाएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को बौदीखोलामा आएको बाढीले सो निर्माणाधीन पक्की पुल बगाएको हो ।


जिल्लाको बौदीकाली गाउँपालिकाको वडा नं. १ र २ जोड्नका लागि शेरामा निर्माणाधीन अवस्थामा रहेको पुलको स्ल्याब र बिम बगाएको छ । बौदीकालीका प्रमुख प्रशासकीय अधिकृत प्रदीपचन्द्र सुवेदीले गाउँपालिकालाई जिल्ला सदरमुकाम कावासोतीसँग जोड्नका लागि शेरामा निर्माण हुँदै गरेको पुलको फलामे संरचनालाई बाढीले बगाएको जानकारी दिए ।


प्रदेश सरकारको तीन करोड ५० लाखको लागतमा निर्माण भएको पुलको काम अन्तिम चरणमा पुगेको थियो । प्रमुख प्रशासकीय अधिकृत सुवेदीका अनुसार सो पुलको बिहीबार (आज) ढलान गर्ने तयारीका साथ काम भइरहेको थियो । खोलामा आएको बाढीले ढलानका लागि तयारी अवस्थामा रहेको पुल बगाएपछि लाखौँ रुपैयाँको नोक्सानी भएको सुवेदीले बताए ।


यसैबीच अविलरल वर्षापछि कालीगण्डकी नदीमा आएको बाढीका कारण नवलपुर र तनहुँ जोड्ने पक्की पुल पनि जोखिममा परेको छ । बौदीकाली–४ र तनहुँको घिरिङ गाउँपालिका–४ जोड्ने गरी कालीगण्डकी नदीमा निर्माण भएको पक्की पुल जोखिममा परेको सुवेदीले बताए । बर्सातका कारण बौदीकाली क्षेत्रको जमीनको केही भाग भासिएको छ भने घिरिङतर्फ पुलको सपोर्टिङ ग्याबिन बगाएको छ । पुलमा जोखिम बढेपछि यस क्षेत्र भएर हिँड्ने सवारी साधन सञ्चालनमा रोक लगाइएको सुवेदीले जानकारी दिए ।