मौसम

तीनवटा प्रदेशमा भारी वर्षाको सम्भावना; राप्ती, बबई र तिनाउ नदी पनि उच्च जोखिममा


काठमाडौ – जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेशका र प्रदेश १ का केही स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना छ ।

विभागका अनुसार आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेश, वाग्मती प्रदेश र प्रदेश १ का केही स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना विभागको भनाइ छ ।

प्रदेश १, वाग्मती प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको केही भू–भागमा भारि वर्षाको सम्भावना रहेकोले उक्त प्रदेशका पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार अहिले पनि सुनकोशी नदीको बहाव खतराको संकेतसम्म छ । यस्तै गुल्मीको बडिगाड रुद्रवेणी स्टेशनमा पनि बाढीको सतह खतराको संकेतसम्म पुगेको छ । महाशाखाले जारी गरेको बुलेटिनअनुसार बिहीबार पश्चिम राप्ती, तिनाउ र बबईमा बहाव बढेर उच्च जोखिम हुन सक्ने छ । गण्डकी र लुम्बिनी प्रदेश क्षेत्रमा पनि जोखिम उच्च छ । नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीमा भने बिहीबार मध्यम जोखिमको सम्भावना छ । कन्काई, कमला, बागमती, कोशी र यसका सहायक नदीमा पनि मध्यम जोखिमको सम्भावना कायमै रहेको महाशाखाले जनाएको छ ।

यसैबीच, अझै केही दिन पानी पर्ने भएको छ । अघिल्ला दुई दिनको तुलनामा आज र भोलि केही कम पानी पर्ने तर नरोकिने मौसमविद् मीनकुमार अर्यालको भनाइ छ । पानी कम परे पनि सचेत हुनुपर्ने उनी बताउँछन् । ठूलो पानी परेर जमिन गलेकाले सानो पानी पर्दा पनि पहिरो जानसक्ने भएकाले यसबाट सचेत हुनुपर्नेमा उनको जोड छ ।

कतिपय नदीमा पानीको बहाव उच्च हुन बित्तिकै खतराको संकेत स्वरुप अलर्ट राखिएको र ती अलर्ट आफैं बज्ने भएकाले त्यही अनुसार सचेत हुनुपर्ने भन्दै उनी त्यसको पहुँच नभए फोन गरेर भए पनि बुझेर अवस्थाको जानकारी लिनुपर्ने बताउँछन् । मनसुन सक्रिय हुनबित्तिकै सुरु भएको झरी अझै पनि जारी छ । अहिले प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ ।