राजनीति

अहंकारले सकिँदै ओली,आसेपासे अझै उक्साउद (भिडियोसहित)

ओलीलाई दबाब दिने रणनीतिस्वरूप नेपाल पक्षले प्रदेश १ र वाग्मती प्रदेश सरकारलाई नीति तथा कार्यक्रम पास गर्न सहयोग गरेको छ भने सर्बोच्च अदालतले एमालेको दशौ महाधिवेशन नचिन्ने फैसला मिलनविन्दु हुनसक्ने नेपाल पक्षको भनाइ छ ।


काठमाडौँ – आसेपासेको गलत सल्लाह र आफ्नै अहंकारका कारण प्रधानमन्त्री केपी शर्मा ओली विस्तारै राजनीतिक चेपुवामा पर्न थालेका छन् । दक्षिण एशियाकै पहिलो ठूलो कम्युनिष्ट पार्टी नेकपाको अध्यक्षबाट एमालेको एक गुटको अध्यक्षमा खुम्चिएका ओली हाल संसद्मा समेत विश्वासको मत समेत जोगाउन नसकेर संसद् भंग गरी कामचलाउ प्रधानमन्त्री बन्न पुगेका छन् । तर पनि उनका आसेपासे यसका पछाडीका कारण खोतल्न अझै तयार छैनन् ।

केही समय अगाडिसम्म प्रधानमन्त्री केपी शर्मा ओली देशका ठुला दुई (२) सत्ता साझेदार दल नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) मिलेर बनेको नेकपाको पहिलो नम्बरका अध्यक्ष थिए । जुन पार्टीलाई धेरैले बिराट, सर्वाधिक शक्तिशाली, विश्वकै निर्वाचित पहिलो ठूलो कम्युनिष्ट पार्टी, एशियाकै तेस्रो ठूलो कम्युनिष्ट पार्टी, दक्षिण एशियाकै पहिलो ठूलो कम्युनिष्ट पार्टी जस्ता उपमाहरु दिएका थिए । यतिमात्र हैन ओली बहुमत प्राप्त सरकारको प्रधानमन्त्री थिए । अर्थात राजनीतिक शक्ती ओलीको वरीपरी घुम्थ्यो अनि उनी एक्लो हर्ताकर्ता थिए । उनमा उन्मात्त भरियो, आसेपासेले त्यसमा मलजल थपे । विवाद चुलिंदै जाँदा नेकपा फुट्यो । अनि आफ्नो पूर्व पार्टी एमालेलाई समेत सम्हालेर जान नसकेका ओली एउटा गुटको अध्यक्षमा सिमित बने । बहुमतबाट अल्पमतमा झरे अनि विश्वासको मत समेत नपाएर काम चलाउन सरकारको प्रधानमन्त्री बने । पछिल्लो समय उनी विभिन्न राजनीतिक मोर्चामा कमजोर र पराजित हुँदै गएका छन् ।

केन्द्रको बाछिटा प्रदेशसम्म पुगेको छ । फलत गण्डकी प्रदेशमा सरकार नै ढल्यो । माओवादी छोडेर ओलीलाई साथ दिएका राष्ट्रियसभा सदस्य रामबहादुर थापासहित बागमती र लुम्बिनीमा गरी दुईजना पराजित भईसकेका छन । बिहीबार मात्रै सुदूरपश्चिममा केन्द्रबाट जारी गरेको निर्देशनविपरीत प्रदेश संसदीय दलले अर्कै ह्वीप जारी गर्यो भने उनको खेमा त्यहाँ मन्त्रीविहीन बनेको छ । त्यस्तै कर्णाली प्रदेशमा पनि सरकार ढाल्न खोज्दा उल्टै ओली पक्ष सत्ताको हिस्सेदारीबाट बाहिरिनुप¥यो । लुम्बिनी, बागमती र प्रदेश १ मा समेत एमाले संस्थापन एक्लिदै जाने दिशामा छ । यसरी चौतफी दबाब र घेराबन्दीमा परेका उनमा अझै चेत खुलेको छैन । बरु उनको विकल्प नै नभएको भन्दै उनका आसेपासेहरु अझै उक्साईरहेका छन् ।

अध्यक्ष विधान र विधिसम्मत ढंगले नचलेको भनेर पार्टी भित्रै समानान्तर गतिविधि गरिरहेको माधव नेपाल समूहको माग सुन्न ओली तयार छैनन । बरु जसपाको एक घटकलाई साथ लिएर हिडेका उनी माधव विहिन एमाले निर्माणमा लागेका छन् । यो बीचमा एकताका लागि दुवै पक्षबीच औपचारिक अनौपचारिक बैठकहरु जारी छन् । तर ओली निर्णायक र ठोस कदम चाल्न अझै तयार छैनन् । उनी असन्तुष्ट पक्षको मागमा सकारात्मक बन्नु भन्दा फुटाउ र राज गरेको खेलमा लागेका छन् । जबकी ओलीलाई दबाब दिने रणनीतिस्वरूप नेपाल पक्षले प्रदेश १ र वाग्मती प्रदेश सरकारलाई नीति तथा कार्यक्रम पास गर्न सहयोग गरेको छ भने सर्बोच्च अदालतले एमालेको दशौ महाधिवेशन नचिन्ने फैसला मिलनविन्दु हुनसक्ने नेपाल पक्षको भनाइ छ ।

ओली पक्षले सो फैसला आफ्नो हारका रुपमा लिएको छ । जबकी झुक्नु नेपाल पक्षलाई असन्तुष्ट पार्न र आफै ईगो शान्त पार्न ओलीले गरेका विधान विपरितको कार्यको निरुपण यो फैसलाले गरेको छ । तर न त ओली अध्यक्षका रुपमा केही लचकता देखाउन तयार छन् न त आफूले गरेका कार्यमा गल्ती महसुस गर्न नै । संकट घाटिघाटिसम्म आईपुग्दा पनि उनी त नेपाल सामु झुकेको धब्बा अनुहारमा नलागोस भन्नेमै केन्द्रित देखिन्छ । जुन उनको अहंकारको परिणाम हो ।