राजनीति

ओलीले बादललाई मात्रै काखी च्याप्दा पूर्वमाओवादी नेता पाखा लाग्दै (भिडियोसहित)

सरकार र पार्टीका दुबै जिम्मेवारीबाट एकैपटक हात धुनुपरेपछि दिन काट्न मुस्किल परेका नेताहरुलाई एमालेभित्र व्यवस्थापन गर्न पनि हम्मेहम्मे परेको छ ।


काठमाडौँ – पार्टीभित्र माधव पक्ष र ओली पक्षकै विवादले विभाजनको कसरतमा रहेको सत्तारुढ एमालेमा पूर्वमाओवादीका नेताहरु समेत असन्तुष्ट बन्न थालेका छन् ।राम्रा मन्त्रालय र मागेकै निर्वाचन क्षेत्र पाउने सर्तसहित एमालेमा आएका उनीहरुले सरकारबाट हात धुनु त परेको छ नै, पार्टीको कुनैपनि जिम्मेवारीमा नरहेन अवस्था आएपछि विचल्लीमा परेका छन् ।


पूर्व माओवादीका नेताहरुका लागि अहिले सत्तारुढ नेकपा एमाले निल्नु र ओकल्नु भएको छ ।नेकपा विभाजनपछि मन्त्री बनेर एमालेमा रहिआएका उनीहरुलाई जेठ ६ मा सर्वाेच्च अदालतले गैरसांसद व्यक्ति मन्त्रीमा नियुक्त भएको भन्दै पद खोसिदियो । पद गुमाएर पुनः नियुक्तिको आशमा मन्त्री निवास पुल्चोकमै बसिरहेका उनीहरुलाई पछिल्लो समय एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले उपेक्षा गरेपछि उनीहरुलाई आफ्नै कर्मको फल तीतो लाग्न थालेको छ ।

एमालेमा प्रवेश गर्दा आकर्षक मन्त्रालय र पार्टीभित्र पनि सम्मानित जिम्मेवारीको बाग्रेनिङ गरेरगएका उनीहरुलाईप्रधानमन्त्री ओलीले पछिल्लोपटक गरेको मन्त्रिपरिषद् हेरफेरमा समावेश गरेनन् । पार्टीभित्र पनि दशौं महाधिवेशन आयोजक कमिटीबाट केन्द्रीय सदस्य लगायतको जिम्मेवारीमा रहेका उनीहरुसर्वाेच्चले नवौ महाधिवेशनबाट निर्वाचित कमिटी नै एमालेको वैधानिक संरचना हो भनिदिएपछि जिम्मेवारीमुक्त हुनुपरेको छ ।अहिले उनीहरु प्रधानमन्त्री ओलीका अघि आफ्नो राजनीतिक औचित्य समाप्त भएको त होईन भन्ने आशंका गर्न थालेका छन् ।

पूर्वमाओवादी नेताहरुको नेतृत्व निवर्तमान गृहमन्त्री रामबहादुर थापा बादलले गर्दै आएका थिए । जसमध्ये टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा, गौरीशंकर चौधरी र प्रभु शाहलगायतका नेताहरु माओवादीमा रहँदा पनि बादलको कित्तामा नभएकाले कसलाई नेता मान्ने भन्नेमै विवाद छ । यद्यपीबादलले पछिल्लो मन्त्रिपरिषद्मा आफ्नी पत्नी नैनकला थापालाई सञ्चार जस्तो आकर्षक मन्त्रालयमा पठाएर अरुलाई वेवास्ता गरेको भन्दै यहीँभित्र पनि असन्तुष्टि छाएको छ ।पूर्वमाओवादी नेताहरुको नेतृत्व गर्न असफल बनेका बादललाई मात्रै ओलीले काखी च्यापेको भन्दै अरुले चित्त दुखाएका छन् ।

जसपालाई ११ मन्त्री दिने बेला पूर्वमाओवादी खेमाका नेताहरुले पाँच मन्त्रालयको माग ओलीसँग गरेको बुझिन्छ । तर आफूहरुलाई वेवास्था गर्दै ओलीले पालैपालो सबैको चित्त बुझाउने गरि मन्त्रिपरिषद् विस्तार गरेपछि उनीहरुको मन कुडिएको हो । सरकार र पार्टीका दुबै जिम्मेवारीबाट एकैपटक हात धुनुपरेपछि दिन काट्न मुस्किल परेका नेताहरुलाई एमालेभित्र व्यवस्थापन गर्न पनि हम्मेहम्मे परेको छ । पहिलेकै दुई वटा गुटको दलदलमा फसेर विभाजनको अन्तिम तयारी चलिरहेको एमालेमा पुर्वमाओवादी नेताहरुको अर्काे गुट जन्मिने आँकलन पनि हुन थालेको छ ।