राजनीति

नारायणी नदी अहिलेसम्मकै उच्च विन्दुमा


काठमाडौँ – नारायणी नदीको सतह इतिहासकै उच्च विन्दुमा पुगेको छ । नदीको सतह गए राति १०ः५० बजे १०.४६ मिटर पुगेको हो । सो समयमा पानीको बहाव एक करोड ६४ लाख ५५ हजार लिटर प्रतिसेकेन्ड पुगेको थियो ।

नारायणी बेसिन कार्यालय भरतपुका हाइड्रोलोजिस्ट रामविकेश रायले कार्यालयले सन् १९६२ फेब्रुअरी १० देखि जलस्तर मापन सुरु गरेको बताए । उनका अनुसार सन् १९७४ अगष्ट ५ मा नारायणीको जलस्तर १०.१ मिटर र १५ हजार ३०० घनमिटर प्रतिसेकेन्ड बहाव मापन गरिएको थियो ।

सोही १०.१ मिटरलाई विगतमा उच्च विन्दु मानिँदै आएको थियो । सो विन्दुको रेकर्ड गए राति तोडिएको उनले जानकारी दिए । रायले भने, “सन् १९६२ यताकै सबैभन्दा बढी गए राति मापन गरिएको छ ।”

यसबीचको अवधिमा सन् २०१८ को बर्सातमा १४ हजार घनमिटर प्रतिसेकेन्ड बहाव र तह ९.६ मिटर रहेको उनले जानकारी दिए । सन् १९६३ देखि हालसम्मको तथ्यांकलाई हेर्दा नारायणीको शिरतर्फका क्षेत्रमा सबैभन्दा बढी पानी यस वर्ष परेको देखिन्छ । सन् २०१३ मा १३ हजार घनमिटर प्रतिसेकेन्ड नारायणीको बहाव मापन भएको थियो ।

नारायणी नदीको खतराको तह आठ मिटर र बहाव नौ हजार ९९२ घनमिटर प्रतिसेकेन्ड रहेको छ । यसको चेतावनी तह ७.३ मिटर र आठ हजार ४६० घनमिटर प्रतिसेकेन्ड रहेको छ ।