राजनीति

राष्ट्रपतीको खोप अनुरोधको चिठ्ठिले काम गरेन, खोप आउने भरपर्दो श्रोत के ?


काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न देशका समकक्षीलाई कोरोना विरुद्धको खोप उपलब्ध गराईदिन गरेको अनुरोध काम नलागेपछि सरकारले चीनबाट खोप खरिद गर्ने भएको छ ।

प्रोटोकल भन्दा बाहिर गएर राष्ट्रपतिले खोपमा चासो देखाएपछि उनको आलोचना मात्र भएन खोप खरिद प्रक्रिया पनि अलमलमा पर्यो । राष्ट्रपतिको प्रयास काम नलागपछि सरकारले चीनसँग खोप किन्ने तयारीमा जुटेको हो ।

भारतबाट खोप आयात हुन नसकेपछि अलमलमा परेको सरकारले अझै ठोस कदम चाल्न सकेको छैन । अन्य विकल्प हुँदाहुदै विज्ञले सुझाव समेत वेवास्ता गरेको सरकारले बरु यो विचमा राष्ट्रपतिलाई अघि सारेर आलोचित बनायो । विभिन्न उच्चस्तरीय संयन्त्रबाट खोप खरिदका लागि कूटनीतिक पहल गरिरहेको भन्दै टार्दै आएको सरकारले विज्ञहरुको सुझाव मान्न तयार भएन ।

जबकि विज्ञहरुले चीन लगायतका देशबाट खोप आयातको बाटो खुल्ला रहेको बताँउदै भारतको मात्र भर नपरी यी विकल्पमा सोच्न सुझाएका थिए । तर सरकारले भने यी विकल्प कार्यान्वयनमा लैजानुभन्दा राष्ट्रपतिलाई अघि सा¥यो । परिणामत राष्ट्रपति भण्डारीले भारत, अमेरिका र रुसका समकक्षी एवं बेलायतकी महारानी एलिजावेथ द्वितीयलाई खोप खरिदका लागि सहजीकरण गरिदिन अनुरोध गरिन । तर उनको अनुरोधले ठोेस जवाफ प्राप्त हुन नसकेको परराष्ट्र मन्त्रालयको भनाई छ । अर्थात सरकारको यो कदमले राष्ट्रपतिलाई आलोचित गर्ने बाहेक अन्य परिणाम दिन सकेन । जसलाई परराष्ट्रविद्हरुले निरर्थक काम बताँउदै आएका छन् ।

ढिलै भएपनिसरकारले राष्ट्रपतिको पत्रले खोप खरिदमा कुनै प्रगति नहुने महसुस गरेको छ । त्यसैले यसमा धेरै अपेक्षा गर्नु आवश्यक नरहेको निष्कर्ष निकाल्दै खोप खरिद गर्ने तयारी थालेको छ । फलस्वरुप स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनबाट एक करोड २० लाख डोज खोप खरिद गर्ने निर्णय गरेको छ ।

जसको अन्तिम निर्णय गर्न मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव पठाएको छ । चीनले खोप उपलब्ध गराउन सक्ने संकेत यस अघि नै दिईसकेको थियो । आफूले पहिलो चरणमा अनुदानमा दिएको भेरोसिल खोपलाई नेपालमा मान्यता दिन भएको ढिलाईका कारण शंसकित बनेको चीनले खोपका लागि उच्चस्तरीय प्रस्तावको अपेक्षा गर्दै आएको थियो । तर सरकारको लाचारीपनका कारण निर्णयमा ढिलाई भयो । जसलाई स्वयम स्वास्थ्य मन्त्रालयले समेत १५ दिन ढिला भएकोस्वीकारी सकेको छ । तर सरकारी पक्ष भने खोप आउने र सबैल नागरिकले पाउने गोलमटोल उत्तरमै अल्झिएकोे छ ।

खोप खरिदका लागि सरकारले गरिरहेको आन्तरिक प्रयास ठोस परिणाम दिने भन्दा विवादीत बन्ने मात्र भएका छन् । यसअघि बिचौलियाका अघि निरिहता देखिएको सरकारले त्यसपश्चात राष्ट्रपतिलाई विवादीत बनाउने गरी कदम सा¥यो जो निरर्थक साबित भईसकेको छ ।

ढिलै भएपनि अहिले चीनबाट खोप ल्याउने तयारी गरेर सहि बाटो समात्ने प्रयासमा सरकार छ । तर प्रश्न कायमै छ किन सरकारले भारतबाहेक अन्य देशबाट खोप ल्याउने बारे समयमै सोच्न किन सकेन ? महामारीको बेलामा नेतृत्वकर्तामा दुरदर्शिताको अभाव किन ?